हङकङका लागि पर्यटन दूतमा म्याग्दीका प्रकाश पुन नियुक्त

  • २८ जेष्ठ २०७९, शनिबार
  • 611 पटक पढिएको

म्याग्दी, २८ जेठ । म्याग्दीका प्रकाश पुन हङकङका लागि नेपाली पर्यटन दूतमा नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको मन्त्रीस्तरीय बैठकबाट हङकङमा व्यवसाय गर्दै आउनुभएका पुनलाई पर्यटन दूतमा नियुक्त गरेको हो । दुई दशक अघि ब्रिटीस आर्मीबाट अवकास प्राप्त गर्दै हङकङबाट ब्यापार ब्यवसाय शूरु गर्नुभएको पुन अहिले हङकङ नेपाली ब्यापार संघको अध्यक्ष समेत हुनुहुन्छ ।

पर्यटन दुतमा नियुक्त गरेकोमा सरकारलाई धन्यबाद दिँदै पुनले नेपालको कला, संस्कृति र प्राकृतिक सौन्दर्यतालाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसारमा भूमिका खेल्ने बताउनुभयो । प्रवासी म्याग्देलीहरुलाई गोलबद्ध गर्ने अभियानको नेतृत्व गर्नुभएका पुन म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तराष्ट्रियको संस्थापक अध्यक्ष, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका पूर्व कोषाध्यक्ष, द गोर्खाज ग्रुप हङकङको अध्यक्ष र म्याग्दी विकास मञ्चको समेत अध्यक्ष हुनुहुन्छ ।

नेपालको कला र नेपाली उत्पादनलाई हङकङको बजारमार्फत अन्तर्राष्ट्रिय बजारमा पुर्याउने कार्यमा निरन्तर लाग्दै आउनुभएको पुनले हङकङ नेपाल ब्यापार संघमार्फत नेपालको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने कार्यमा महत्वपुर्ण योगदान पुर्याउनु भएको छ । त्यस्तै, पुनको नेतृत्वमा संघले महावीर पुनको अबिष्कार केन्द्रलाई ४० लाख सहयोग गर्न सफल भएको छ । त्यसैगरि, पोखरा नगरपालिकासँग चीनको सीचुवान प्रान्तको इवीन सिटीसँग २०१७ मा भगीनी सम्बन्ध स्थापना गर्न पुनको महत्वपूर्ण योगदान छ ।

त्यस्तै, नेपाली र नेपाल सरकारलाई सहयोग गरेवापत विदेशमा बस्ने गैर आवासीय नेपाली नागरिकमध्येबाट नेपाल सरकारबाट प्रदान गरिने दुई वटा प्रदकबाट समेत पुन विभूषित भइसक्नु भएको छ । सन २००२ मा गैर आवासीय नेपालीमध्येबाट प्रदान गरिएको विरेन्द्र एैश्वर्य सेवा पदक र २००४ मा सुप्रवल गोरखा दक्षिण बाहु तेस्रो बाट विभूषित हुने पहिलो ब्यक्ती समेत हुनुहुन्छ । गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील पुन एनआरएनको संस्थापक हुँदै, कोषाध्यक्ष र आइसिसी सल्लाहकारको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ ।