बेनीको खुलामञ्चमा ‘मिनी रंगशाला’ बनाउने योजना अलपत्र

  • २६ जेष्ठ २०७९, बिहीबार
  • धिरन खत्री
  • 841 पटक पढिएको

धिरन खत्री
म्याग्दी २५ जेठ । म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा लामो समयदेखि युवाहरुले खेलकुद अभ्यास गर्न पाएका छैनन् । खुलामञ्चलाई स्तरोन्नती गरि मिनी रंगशाला बनाउने काम सुरु भएको बर्षौ बितेपनि बजेट अभावले योजना अलपत्र बनेको छ । खुलामञ्चमा खेल अभ्यास गर्ने खेलाडीहरु यस अघि राष्ट्रिय र अन्तराष्ट्रियस्तर सम्म पुगिसकेको भएपनि केहि बर्ष यता खुलामञ्च खेलमैदान उपयोग विहिन बनेको छ ।

खुलामञ्चको पूर्वाधार योजना अलपत्र बनेको र निर्माण सामाग्रि अव्यवस्थित रुपमा राखिएको कारण विभिन्न समयमा हुँदै आएका खेलकुद प्रतियोगिता समेत प्रभावित बनेका छन भने बेनी स्थित विभिन्न विद्यालय र क्लबका खेलाडीहरुले खेल अभ्यास राम्रोसंग गर्न पाएका छैनन् । मिनि स्टेडियम बनाउने योजनामा खेलमैदानलाई फराकिलो बनाउने र प्याराफिट बनाउने पूर्वाधारहरु समेत बिचैमा अलपत्र बनेका छन् । अहिले खुलामञ्च सवारीसाधनको पार्कीङ गर्ने स्थान र बजारको सडक कालोपत्रे गर्ने सामानहरु ढुङ्गा, गिटि र बालुवा भण्डारण गर्ने स्थानको रुपमा परिणत भएको छ । पूर्वाधार निर्माण योजनाले पूर्णता पाउन नसक्दा युवाहरुलाई खेलकुद अभ्यासमा कठिनाई र फुटवल प्रतियोगिता आयोजना गर्न नपाएको एभग्रीन युवा क्लवका अध्यक्ष निरज राम्जालीले बताउनुभयो।

‘‘खुल्लामञ्चमा पछिल्लो समय खेलकुद अभ्यास गर्न ग्राहो छ, ढुङ्गा, बालुवा र सडक कालापत्रे गर्ने अलकत्र लगायतका सामाग्री खुल्लामञ्चमा राख्दा अभ्यास गर्ने मैदानको स्वरुप विग्रिएको छ, खेलकुद अभ्यासमा युवाहरु घाईते हुने अवस्था सिर्जना भएको छ’’– अध्यक्ष राम्जालीले भन्नुभयो । खुल्लामञ्चको पुर्वाधार निर्माणमा ढिलाई गर्दा बेनीमा विभिन्न समयमा एभग्रीन, बौद्ध युवा क्लव, कालीपुल युनाईटेड र दोभान युवा क्लवले आयोजना गर्ने फुटवल लगायतका खेलकुद प्रतियोगिता समेत प्रभावित बन्दै आएका छन् । खुल्लामञ्चलाई मिनी रंगशाला बनाउने योजनासहित अघि बढेपनि बजेटको निरन्तरता नहुदा पुर्वाधार निर्माण अलपत्र परेको हो । खुल्लामञ्च खेलमैदान मात्र नभएर ब्यापारिक मेला महोत्सव, सास्कृतिक कार्यक्रम र राजनीतिक सभा हुने स्थलपनि हो । तर, पछिल्लो समय क्लव, विभिन्न संघसंस्था, विद्यालयले आयोजना गर्ने खेलकुद प्रतियोगिता र मेलामहोत्सव रोकिएको छ ।


बजेटमा निरन्तरता नहुदाँ निर्माणधिन प्याराफिट अलपत्र छ । विभिन्न खेलकुद प्रतियोगितामा जनप्रतिनिधिले खुलामञ्चलाई मिनि स्टेडियम बनाउने घोषणा भाषणमा सिमित भएको छ । संघ, प्रदेश र स्थानीय तहले खुल्लामञ्चको पुर्वाधार निर्माणमा प्राथमिकता नदिएको युवा क्लवहरुको गुनासो छ । अलपत्र अवस्थामा रहेको खुल्लामञ्चलाई पुर्णता दिने गरी बजेटको लागि नगरमा छलफल अघि बढाउने बेनी नगरपालिका – ७ का वडाअध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । “तत्काल खुल्लामञ्चको सरसफाई र सवारीसाधन लगायतको सामाग्री खेलमैदानभित्र प्रवेश रोक्न गेट राख्ने काम वडाले अघि बढाएको छ”, श्रेष्ठले भन्नुभयो । म्याग्दी नदीको किनारतर्फ अग्लो पर्खाल निर्माण सम्पन्न भएको छ । प्याराफिट निर्माणको करिब आधा काम सकिएको छ भने आधा भागको प्याराफिट निर्माणमा बजेट अभावले रोकिएको छ । कालीगण्डकी किनारतर्फ खुल्लामञ्चलाई फराकिलो बनाउने किसिमले प्याराफिट निर्माण लागि सुरु गरिएको काम पिल्लर राख्ने काम मात्र भएको छ ।


जिल्ला सदरमुकाम बेनीमा फराकिलो प्याराफिटसहितको स्तरीय रंगशाला बनाउने योजनासहित जिल्ला खेलकुद विकास समितिले २०७४ सालमा डीपिआरसहित ९ करोडको लागत अनुमान सार्वजनिक गरेको थियो । जनप्रतिनिधि राजनीतिक रुपमा बोलेको बाचा पुरा नगर्दा जिल्लामा ठुला आयोजनाहरु मध्य खुल्लामञ्च पनि अलपत्र छ । कालीगण्डकी र म्याग्दी नदीमा पक्की पर्खाल र पुरानो भन्दा फराकिलो ११÷११ जना फुटबल खेल्न मिल्ने खेलमैदान बनाउन ९६ मिटर लम्वाई र ४५ मिटर चौडाई भएको मिनी स्टेडियम बनाउने योजना छ । हालसम्म ३ करोड भन्दा बढी लगानी भएको खुल्लामञ्चलाई ब्यवस्थित बनाउन ९ करोड भन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।
कोरोना कहर र त्यसपछि समेत बजेट विनियोजन नभएपछि खुलामञ्चको पूर्वाधार निर्माण प्रभावित बनेको हो । आर्थिक बर्ष ०७७÷०७८ मा यो योजनामा कतैबाट पनि बजेट विनियोजन भएन । आव ०७८/७९ मा पनि विगतमा दिएको आश्वासन अनुसार बजेट विनियोजन नहुदाँ खुल्लामञ्चको स्वरुप फेर्दै रंगशाला बनाउने योजना अधुरै बन्ने भएको हो ।

खुल्लामञ्चको पूर्वाधारलाई पुर्णता दिने बजेट नगरपालिकासंग नभएको मेयर सुरत केसीले बताउनुभयो । उहाँले खुलामञ्चको पूर्वाधार निर्माणलाई नगरले प्राथमिकतामा राखेपनि १५÷२० लाख भन्दा बढी बजेट विनियोजन गर्न सक्ने क्षमता नगरसंग नरहेको बताउँदै सम्बन्धित निकायमा पहल गर्ने जानकारी दिनुभयो । “खुल्लामञ्चको पुर्वाधार पुर्णता दिन गण्डकी प्रदेशको खेलकुद मन्त्रालयसंग बजेट लागि कुरा अघि बढाएका छौ, तर कति बजेट पर्छ भन्ने विषय अन्योल छ”, उहाँले भन्नुभयो “नगरपालिकाको आन्तरिक आय कम हुदाँ र अनुदानको रकम निश्चित मापदण्डमा रहेर विनियोजन गनुपर्ने बाध्यताले, रंगशालाको पूर्वाधार निर्माणका लागि आवश्यक बजेटको लागि विकल्प खोजिरहेको छौ।’’

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l