मानसिक रोगका विरामीलाई नि:शूल्क औषधी र ख बर्गको परिचयपत्रको माग

  • २४ जेष्ठ २०७९, मंगलवार
  • 553 पटक पढिएको

 

म्याग्दी २४ जेठ । म्याग्दीका मानसिक रोगका विरामीहरुलाई निःशूल्क औषधी र ‘ख’बर्गको परिचयपत्रको माग गरिएको छ । मानसिक रोगका विरामीका अभिभावक र संरक्षकहरुले विरामीले नियमित रुपमा औषधी सेवन गर्नुपर्ने भएकाले उनीहरलाई निःशूल्क औषधीको उपलब्धता गराउन माग गरेका हुन् ।

मानसिक रोगका विरामीका संरक्षकहरुको आयआर्जनमा सघाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको लिड्स नेपालले बेनी नगरपालिका–६ छापमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी संरक्षकहरुले मानसिक रोगका विरामीहरुलाई राज्यले उपेक्षा गरेको गुनासो गरेका थिए ।

अधिकाँश मानसिक रोगका विरामीहरुको परिचय पत्र नभएको र भएकाको समेत ग बर्गको परिचय पत्र रहेकाले कुनैपनि सुविधा पाउन नसकेको बेनी नगरपालिका–६ का टेकबहादुर बानियाँले बताउनुभयो ।

संरक्षक म्याग्दीका अध्यक्ष गीता खड्काले मानसिक रोगका विरामीलाई निशुल्क औषधी र उनका संरक्षकहरुको आयआर्जनमा नगरपालिकाले समेत सघाउनुपर्ने माग गर्नुभयो । म्याग्दीमा २ सय बढी जनाले अहिले नियमित रुपमा मानसिक रोगको औषधी प्रयोग गर्ने गरेको लिड्स नेपालको जिल्ला संयोजक निशा महतले जानकारी दिनुभयो । अधिकाँश मानसिक रोगका विरामीको घरपरिवारको अवस्था कमजोर रहेकाले उनीहरुलाई औषधी र दैनिक जिवनयापनमा समेत समस्या हुने गरेको उहाँले बताउनुभयो । लिड्सले म्याग्दीमा मानसिक रोगका विरामीहरुका संरक्षकहरुको आयआर्जनमा सघाउन विभिन्न कार्यक्रम गर्दै आएको छ ।