जिसस म्याग्दीको निर्वाचन असार ५ गते

  • २३ जेष्ठ २०७९, सोमबार
  • धिरन खत्री
  • 651 पटक पढिएको

म्याग्दी, २३ जेठ । स्थानीय तह निर्वाचन अन्तरगत जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचन असार ५ गते हुने भएको छ । जिल्लासभाको निर्णय अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आगामी असार ५ गते निर्वाचन गर्ने गरी समय तालिका निर्धारण गरेको हो ।


जिससको प्रमुख उपप्रमुख सहित नौ सदस्यीय समितिका लागि निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जेठ २३ गते मतदाता नामावली प्रकाशन गने, २४ गते मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, २५ गते संशोधित मतदाताको नामावली प्रकाशन गर्ने, २६ गते मतदाताको विरोधमा उजुरी दिने, २७ गते उजुरी उपर जाँचबुझ गर्ने र २८ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेका छन् ।

त्यसैगरी असार १ गते उम्मेदवारको मनोनयन दर्ता संगै उम्मेदवारको सुची प्रकाशन गर्ने रहेको छ । २ गते उम्मेदवार उपर उजुरी, सोहि दिन जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, ३ गते उम्मेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशनसंगै उम्मेदारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

६ स्थानिय तह रहेको जिल्लामा निर्वाचित पालिका प्रमुख र उपप्रमुखको संख्या अनुसार जिससमा नेकपा एमालेको बहुमत देखिएको छ । निर्वाचन कार्यविधी अनुसार ६ स्थानिय तहका प्रमुख र उपप्रमुखहरुले जिल्ला समन्वय समिति निर्वाचनको मतदाता हुनेछन् । जिल्ला समन्वय समितिका लागि १२ मत मध्ये ७ मत नेकपा एमालेको रहेको छ भने गठबन्धनतर्फ नेपाली काँग्रेसको ३ मत र नेकपा माओबादीको दुई मत रहेको छ ।

जिसस प्रमुखका लागि नेकपा एमालेतर्फबाट पाटीका जिल्ला सह–सचिव एवम् बेनी नगरपालिका वडानम्वर १ वडासदस्यमा निर्वाचित राजकुमार थापालाई बनाउने निर्णय गरेको छ । जिससका लागि ६ वटै स्थानीय तहलाई समेटेर ९ जनाको उम्मेदवार तय गरिने नेकपा एमाले म्याग्दीका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीले जानकारी दिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l