दानास्थित मोति बराहमा १०८ धारा निर्माण

  • २२ जेष्ठ २०७९, आईतवार
  • 881 पटक पढिएको

म्याग्दी, २२ जेठ । म्याग्दीको अन्नपुर्ण गाउँपालीका– ३ दानाको मतिचौर स्थित रहेको धार्मिक पर्यटकिय स्थल मोति बराहमा १०८ धारा निर्माण गरिएको छ । समुन्द्री सतह देखि २ हजार २ सय मिटर उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल मतिचौरमा निर्माण गरिएको १०८ धाराको वडा अध्यक्ष रमेश पुर्जाले गरेका हुन् ।


आर्थिक बर्ष २०७७/०७८ मा अन्नपुर्ण गाउँपालीका बाट बिनियोजित रु आठ लाख, देश तथा बिदेशमा रहेका दाना बासीहरुबाट प्राप्त सहयोग रु बाह्र लाख गरि कुल २० लाखको लगानीमा सो धारा लगायतका संरचना निर्माण गरिएको मोतीचौर बराह १०८ धारा निर्माण उपभोक्ता समितिका अध्यक्ष गंगा बहादुर थापाले बताए ।

मोति बराहका संरक्षक टेक बहादुर थापा, लेफ्टिनेन्ट बेल बहादुर पुर्जा, हरिमाया राम्जाली, आनन्द शेरपुञ्जा, अन्नपुर्ण गाउँ कार्यपालीका सदस्य थम बहादुर बिश्वकर्मा लगाएतको पहलमा उक्त धारा निर्माण गरिएको हो । धारा नजिक काटमार विहिन शुद्ध पूजाआजाका लागि विष्णु लक्ष्मीको मन्दिर निर्माण गरिएको छ । धारा, मन्दिर लगायत सवै संरचनाहरुमा रंगरोगन गरि चिटिक्क पारिएको छ ।

भारतको राजस्थानबाट ढुङ्गा र गाईमुखी लिएर धारा बनाइएको छ । हिउँदमा पनि नसुक्ने १०८ वटा मुलहरु बाट पानी ल्याइएकोले पनि यो धाराको बिषेश महत्व रहेको छ । यहाँ स्नान गर्ने भक्तजनहरुको मन शुद्घ हुने र मनोकाँक्षा पनि पुरा हुने बिश्वास छ ।

मतिचौरमा शिद्घ र बराहको मन्दिर छ । जहाँ प्रत्यक बर्ष जनै पुर्णिमाको अबसरमा बिशेष पुजाआजा हुने गर्दछ । जिल्ला र जिल्ला बाहिरका भक्तजनहरुले आफ्नो मनोकाक्षाँ पुरा गर्नका लागि बलि सहित त्यहाँ भाकल तथा पुजा गर्न आउने गर्दछन । मतिचौरको धार्मिक पर्यटनलाइ बिकास गर्नका लागि गाउँपालिकाले दुवारी सम्म सडक निर्माण गरेको छ । दुवारीदेखि करिव १ घण्टाको जंगलै जंगलको पैदलयात्रा पछि मतिचौर पुग्न सकिन्छ । समाजसेवि एवम् अभियन्ता कृष्ण तुलाचनको नेतृत्वमा निर्माण भएको आश्रय स्थललाई यसवर्ष पुनः मर्मत गरिएको छ ।