म्याग्दीमा बढ्यो दूधको मूल्य

  • २१ जेष्ठ २०७९, शनिबार
  • 467 पटक पढिएको

बेनी, २१ जेठ । म्याग्दीमा असार महिनादेखि लागू हुने गरी दूधको मुल्य बढाइएको छ । दुई वर्षयता दूधको मूल्य समायोजन नहुदाँ कृषक मर्कामा परेको गुनासोसँगै आइरहेको बेला दूधको मूल्य बढेपछि पशुपालन कृषकहरु खुसी भएका छन् ।

मूल्य निर्धारणका लागि बसेको बैठकले किसानले प्रतिलिटर रू ११० र व्यापारीले अधिकतम रू १३२ सम्म बिक्री गर्ने गरी मूल्य निर्धारण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा म्याग्दीले जनाएको छ । यसअघि कृषकले दूधको मूल्य रु ९० प्रतिलिटर र डेरीले उपभोक्तालाई रू १२० मा बिक्री गर्ने गरेका थिए । गाईको प्रतिलिटर रू ८० कायम गरिएको छ ।

मूल्यवृद्धि भएसँगै प्रतिलिटरमा कृषकलाई प्रतिलिटर रु २० र डेरी व्यवसायीले १२ रुपैयाँ बढी पाउने भएका छन् । केन्द्रका प्रमुख जीवन आचार्यका अनुसार डेरी व्यवसायीले किसानबाट खरिद गरेको भन्दा २० प्रतिशत बढी लिन नपाउने बताए ।

दूधको मूल्य समायोजनले कृषकलाई राहत मिलेको बेनी नपा–६, बास्बोटका दुर्गाप्रसाद पौडेलले बताए । ‘हरेक वर्ष मूल्य वृद्धिअनुसार समायोजन हुनुपर्छ, कृषकको माग सम्वोधन भएको छ’–पौडेलले भने। यता उपभोक्ताले दूध आम उपभोक्ता सामु पुर्याउन गुणस्तरमा ध्यान दिँदै मूल्यस्थिर बनाउनुपर्नेमा जोड दिएका छन् ।

उपभोक्ताले तिर्ने मूल्य अनुसारको गुणस्तरमा सरकारी निकायबाट नियमित अनुगमन हुन नसकेको उपभोक्ताको गुनासो छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा सहित सरोकारवाला निकायले दूध संकलन खर्च, ढुवानी खर्च, प्रशोधन, प्याकेजिङ, बजारसम्म ढुवानी, विक्रेता कमिसनसम्म ध्यान दिँदा दूधमा मिसावटको अवस्थाका बारेमा समेत डेरीवालालाई सचेत बनाउनुपर्नेमा उपभोक्ताको माग छ ।