चिमखोलामा टेलिकमको सुविधा विस्तार भएपछि दुर्गम बस्तीका स्थानीय हर्षित

  • १९ जेष्ठ २०७९, बिहीबार
  • 830 पटक पढिएको

बेनी, १९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमंगलेका दुर्गम बस्तीहरुमा नेपाल टेलिकमको पहुँच विस्तार भएको छ । टेलिकमको सेवा विस्तार भएपछि मोवाईल फोनका लागि अग्ला डाँडा र रुखमा चढेर नेटवर्क खोज्नुपर्ने बाध्यता हटेपछि स्थानीयबासी हर्षित बनेका छन् ।

रघुगंगा गाउँपालिका–७ चिमखोलाको पुस्तिबाङ डाँडामा अस्थायी रुपमा विद्युतको पोलमा बिटियस जडान गरेर सेवा सुचारु गरिएको नेपाल टेलिकम म्याग्दीका प्रमुख दामोदर सिमखडाले जानकारी दिनुभयो । ‘‘तत्कालको लागि विजुलीको पोलमा उपकरण जडान गरेका छाँै, टावर निर्माणको लागि ठेक्का लगाइसकिएको छ, फाउण्डेसनको काम पनि सकिएको छ, छिटै स्थायी संरचनाबाटै सेवा सुचारु हुन्छ’’– कार्यालय प्रमुख सिमखडाले भन्नुभयो । समुन्द्री सतहदेखि २ हजार ६ सय मिटर उचाइमा रहेको पुस्तिबाङ डाँडामा टेलिकमको २५ मिटर अग्लो टावर निर्माण गर्ने योजना रहेको छ ।

तत्कालको लागि टुजी र थ्रिजी मार्फत भ्वाइस र डाटा एकसाथ सञ्चालनमा आएको र पक्की टावर निर्माण भएपछि अत्याधुनिक प्रविधिको चौथो पुस्ताको फोरजी मोवाईल सेवा सञ्चालनमा आउने रघुगंगा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष थक बहादुर पाईजा (रिम)ले जानकारी दिनुभयो । उहाँका अनुसार, टावरका महत्वपूर्ण उपकरण राख्नका लागि गाउँपालिका मार्फत टावर परिसरमा भवन समेत निर्माण भैसकेको छ ।

टावर बनेपछि चिमखोलाको जस्लाबाङ, पात्लेखेत, गौडामाुनी, नगलडाँडा, कुइनेमंगलेको मंगलेखानी, घ्यासीखर्क, दुवाडी, ढाँड, पात्लेखर्क, चौरखानी लगायतका दुर्गम बस्तीहरुमा मोवाइल फोनको सहज पहुँच पुगेको छ । दुर्गम बस्तीहरुमा मोवाइल फोनको लागि नेटवर्क खोज्दै अग्डा डाँडा र रुखमा चढ्नुपर्ने बाध्यता टेलिकमको सेवा विस्तारपछि हटेको रितुङ मावि कुइनेमंगलेका शिक्षक याम घर्तिमिरेले बताउनुभयो । ‘‘सञ्चार सेवा नहुँदा निकै कठिनाई झेल्दै आउनुपरेको थियो, अब अधिकाँश बस्तीका नागरिकले घरबाटै मोवाईल फोनको प्रयोग गर्न पाउने भएका छन्’’–उहाँले भन्नुभयो ।