म्याग्दीका पालिकाले दुई अरब ११ करोड अनुदान पाए

  • १७ जेष्ठ २०७९, मंगलवार
  • 747 पटक पढिएको

बेनी, १७ जेठ । संघीय सरकारले म्याग्दीका स्थानीय तहहरुका लागि आगामी आर्थिक वर्ष २०७९÷८० मा कुल दुई अरब ११ करोड ६१ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माल सार्वजनिक गर्नुभएको बजेट बक्तब्यको बिबरणमा म्याग्दीको बेनी नगरपालिका र पाँच वटा गाउँपालिकालाई समानीकरण, सशर्त, बिशेष र समपुरक अनुदान शिर्षकमा सो बजेट बिनियोजन भएको उल्लेख छ ।

बेनी नगरपालिकाले ५१ करोड ४२ लाख, अन्नपूर्ण गाउँपालिकाले ३३ करोड ८३ लाख र धवलागिरी गाउँपालिकाले २७ करोड ६७ लाख रुपैयाँ अनुदान पाउने भएका छन् । यसैगरी मंगला गाउँपालिकाले ३१ करोड २९ लाख, मालिका गाउँपालिकाले ३५ करोड दुई लाख र रघुगंगा गाउँपालिकाले ३२ करोड ३८ लाख कुल अनुदान पाउने भएका छन् ।

संघीय सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि दुई अरब ६९ लाख र २०७७÷७८ मा एक अरब ७७ करोड रुपैयाँ बिनियोजन गरेको थियो । संघ, प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन बाँकी अनुमानित बजेटलाई आधार मानेर स्थानीय तहहरुले आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र बजेट बाँडफाँडको प्रक्रिया थालेका छन् ।