दुर्घटनामा परेको तारा एयरको ब्ल्याकबक्स भेटियो, सबै शव काठमाण्डौ पठाईयो

  • १७ जेष्ठ २०७९, मंगलवार
  • 595 पटक पढिएको

म्याग्दी, १७ जेठ । आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानुसरे भीरमा दुर्घटना परेको तारा एयरको ट्विनअटरको ब्ल्याक बक्स भेटिएको छ । शव संकलन तथा खोजी गर्न गएको टोलीले मंगलबार बिहान फेला पारी कोवाङ ल्याएको विमानको ककपिट भ्वाइस रेकर्डर (ब्ल्याक बक्स) काठमाडौं पठाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।


ब्ल्याकबक्सबाट दुर्घटनाको अन्तिम बेलासम्म चालक दलबीच भएका कुराकानीसँगै अन्य विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ । दुर्घटनास्थलबाट ब्ल्याकबक्स समेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्त्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको प्रजिअ शर्माले बताउनुभयो

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव संकलन भएको छ । सबै मृतकको शवलाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको छ । तारा एयरको जहाज हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः ५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको हो ।