ज्ञानोदय माविमा ल्यापटप हस्तान्तर तथा पुरस्कार वितरण र जनप्रतिनिधिलाई स्वागत

  • १६ जेष्ठ २०७९, सोमबार
  • 695 पटक पढिएको

म्याग्दी १६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विविध कार्यक्रम गरि विद्यालयलाई प्राप्त सहयोग सामाग्री हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । उक्त अवसरमा हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट वडा र गाउँपालिकाको नेतृत्वमा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई ज्ञापन समेत गरिएको थियो ।


कार्यक्रममा नवनिर्वाचित गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, वडा अध्यक्ष्ँ र सदस्यहरुलाई बधाइ ज्ञापन गरिएको थियो । उक्त अवसरमा एनआरएनए बेल्जियमबाट प्राप्त दुई थान ल्यापटप विद्यालयलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा समन्वयकर्ता हरि सुवेदीले विद्यालयलाई उक्त ल्यापटप हस्तान्तरण गर्नुभएको थियो ।


कार्यक्रममा २०७८ सालको बार्षिक परिक्षामा कक्षा १ देखि १० सम्म प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । उक्त पुरस्कारको सौजन्य समाजसेवी हरि सुवेदीले गर्नुभएको थियो । उक्त अवसरमा मौवाफाँट घर भइ हाल अमेरिकामा रहनुभएका बिशाल हमालद्धारा बार्षिक परिक्षामा तहगत रुपमा उत्कृष्ट हुने शिक्षकहरु र उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत र र गरिब विपन्न बालबालिकालाई नगद सहयोग गरिएको थियो । हमाललको तर्फबाट उहाँकी आमा कमला केसीले रु २७ हजार बराबरको उक्त पुरस्कार प्रदान गर्नुभएको थियो । उक्त पुरस्कारबाट प्रावि तहमा दुर्गा भण्डारी, निमाविमा दुर्गादत्त रिजाल, माविमा रमेशबहादुर शाहीलाई पुरस्कृत गरिएको थियो ।


उक्त अवसरमा शिक्षक रिजालले उत्कृष्ट शिक्षकको रुपमा प्राप्त नगद रु १ हजारमा १ हजार थप गरि विद्यालयलाई सहयोग प्रदान गर्नुभएको थियो । कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो । विद्यालयको भौतिक, शैक्षिक, खेलकुद र साँगेतिक क्षेत्रको विकासमा रु ६० हजार बराबरको सहयोग गर्नुभएकोमा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी, ल्यापटप सहयोग जुटाउन पहल गर्नुहुने हरि सुवेदी, विद्यालयलाई रु ९ हजार ५ सय बराबरको शैक्षिक सामाग्री सहयोग गर्नुहुने मुकुन्द शर्मा, गत बर्षको एसईईमा उत्कृष्ट हुने विद्यार्थिलाई पुरस्कार प्रदान गर्नुहुने रमेश सुवेदी, विद्यालयको चार कोठे भवन निर्माणमा योगदान गर्नुहुने अर्जुन सुवेदी लगायतलाई समेत सम्मान गरिएको थियो ।


कार्यक्रममा स्थानीय समाजसेवी मुकुन्द शर्माले आगामी उत्कृष्ट नतिजा सहित ए ग्रेडदेखि माथिल्लो ग्रेड ल्याएर उत्तिर्ण हुने विद्यार्थिलाई जनही रु १० हजार र हरि सुवेदीले ए ग्रेड ल्याउन भूमिका खेल्ने बिषयगत शिक्षक प्रत्येकलाई रु १० हजार पुरस्कार दिने घोषणा गर्नुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारानाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष भण्डारी, वडा अध्यक्ष खिम बहादुर शाही, सहयोगदाता हरि सुवेदी, मुकुन्द सुवेदी, अर्जुन सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो भने प्रअ बिजय शर्माको स्वागत र शिक्षकद्धय दुर्गादत्त रिजाल र मिनबहादुर केसीको सञ्चालनमा सम्पन्न भएको थियो भने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदी लगायतको समेत सहभागीता रहेको थियो ।