बेनी नगरले नसर्ने रोगको विरामी पहिचान गर्न शिविर संचालन गर्ने

  • ११ जेष्ठ २०७९, बुधबार
  • 1005 पटक पढिएको

म्याग्दी, ११ जेठ। बेनी नगरपालिकाका नवनिर्वाचित मेयर सुरत केसीले हरेक महिनाको १५ गते नगरपालिकाको सबै स्वास्थ्य संस्थामा नसर्ने रोगका विरामी पहिचान गर्न शिविर संचालन गर्ने जानकारी गराउनुभएको छ । नगरभित्रका जनतालाई घातक रोगबाट बचाउन र रोगहरु पहिचान गर्नका लागि हरेक महिनाको १५ गते ४५ बर्षभन्दा माथि उमेरका जनतामा लाग्ने चिनीरोग, रक्तचाप, युरिक एसिड लगातयको रोगहरु स्वास्थ्य संस्थामा परिक्षण गर्ने अभियान जेठ १५ गतेबाट सुरु हुने जानकारी नेपाल पत्रकार महासंघको स्वागत तथा सम्मान कार्यक्रममा मेयर केसीले गराउनुभएको हो । ‘बेनी अस्पतालका डाक्टरको सहयोगमा नसर्ने रोगको पहिचान गर्नका लागि जेठ १३ गते स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई तालिम आयोजना नगरपालिकाले गरेको छ ।’


मेयर केसीले नगरमा आन्तरिक आयस्रोत कम भएका बताउदै नगरको आम्दानी बढाउन स्रोतहरुको पहिचानमा जनप्रतिनिधि लागेको समेत जानकारी गराउनुभयो । नगरपालिकाको आन्तरिक आम्दानी रुपमा रहेको नदीजन्य बस्तुको उत्खनन् र निकासीको ठेक्का हुन नसक्नु, ब्यवसाय र घरबाहल कर र बाँकी वक्यौता रकमलाई उठाउन नसकेको बताउदै यसलाई तत्काल छलफलबाट नयाँ कदम अघि बढाउने प्रतिवद्धता जनाउनुभएको हो । जिल्लाभित्रका संचार क्षेत्रको सवलीकरणको लागि नगरपालिकाले सहयोग पुग्ने नीति निर्माणसंगै जिल्ला बाहिरका मिडियालाई पहुँचको आधार विज्ञापन र भुक्तानी लाने प्रक्रिया रोक्ने समेत प्रतिवद्धता राख्नुभयो ।

नगरकी उपमेयर ज्योती लामिछाने पौडेलले संघ र प्रदेश सरकारसंगको साझेदारीमा कार्यान्वयन भएका केही आयोजनाहरु अहिल्यसम्म शुरु नुहदाँ आगामी आर्थिक बर्षका लागि नगरपालिकाको दायित्व बढेको बताउनुभयो । उहाँले नगरपालिकाका योजनाहरु अनुगमन गदा एकैजना निर्माण ब्यवसायीले धेरै योजनाहरु ओगटेको तर हालसम्म पनि काम सुरु नगरेको भेटिएको छ, यसलाई आगामी बर्षमा न्युनिकरण गरेर योजनाहरु कार्यान्वयन गरिने बताउनुभयो । उपमेयर केसीले संचार क्षेत्रसंगै अन्य क्षेत्रमा महिला, किशोरीको शसक्तिकरण, आयआर्जन र उत्पादनमा जोड्ने कार्यक्रमलाई प्राथमिकता दिएर आगामी बर्षको योजना निर्माण गरिने भन्नुभयो । नगरका मेयर र उपमेयरले सामुदायिक विद्यालयको विद्यार्थी संख्या बढाउन र शिक्षालाई गुणस्तर रुपमा विकास गर्न आवश्यक सेवाहरु विस्तारमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेलले जिल्लाका पत्रकार तथा सञ्चार माध्यमको अवस्था, समस्याबारे जानकारी गराउदै नगरपालिकाले संचारमैत्री नीति बनाउन, विज्ञापनको समान रुपमा वितरण, सञ्चार क्षेत्रको खर्चलाई ब्यवस्थित गर्न रे महासंघको कार्यालय भवन बनाउने वातावरण तयार गर्न सुझाव राख्नुभएको थियो ।