प्रेस युनियनको अक्षयकोषमा रु २ लाख ५० हजार संकलन

  • ९ जेष्ठ २०७९, सोमबार
  • 505 पटक पढिएको

बेनी,९ जेठ । नेपाल प्रेस युनियन म्याग्दीले स्थापना गरेको पत्रकार पुरस्कार अक्षयकोषमा रु २ लाख ५० हजार सहयोग जुटेको छ । जिल्लामा रहेका क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्ने उेदेश्यले स्थापना गरिएको अक्षयकोषमा उक्त रकम संकलन भएको हो । युनियनको अक्षयकोषमा बेनी निवासी होटल व्यवसायि बिमला गौचनले रु १ लाख १ हजार १११  सहयोग गर्नुभएको छ ।

नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि तथा महिला संघका जिल्ला अध्यक्ष समेत रहनुभएकी गौचनले उक्त अक्षयकोषको लागि सोमबार उक्त रकम प्रदान गर्नुभएको हो । एक कार्यक्रमका बिच नेतृ गौचनले प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा ,केन्द्रीय पार्षद सदस्य हरिकृष्ण गौतम र युनियन म्याग्दीका उपाध्यक्ष धनिलाल गर्बुजालाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।

जिल्लामा कृयाशिल पत्रकारहरुलाई पुरस्कृत गर्ने उक्त अक्षयकोषमा आफ्नो दिवंगत श्रीमान राम गौचनको सम्झनामा सहयोग गरेको सहयोगदाता गौचनले बताउनुभयो । यु्नियनले रु ५ लाख राशीको अक्षयकोष स्थापनाको लागि अभियान सञ्चालन गरेको छ । हरेक बर्ष जिल्लामा क्रियाशिल पत्रकारहरुमध्ये उत्कृष्ट पत्रकारलाई अक्षयकोषको व्याज रकमबाट पुरस्कृत गर्ने उदेश्यले अक्षयकोष स्थापना गर्न लागिएको युनियनका सभापति शर्माले जानकारी दिनुभयो ।