म्याग्दी जेसिजद्वारा ‘जेसिज सप्ताह’ कार्यक्रम आयोजना

  • ९ जेष्ठ २०७९, सोमबार
  • 647 पटक पढिएको

बेनी, ९ जेठ । म्याग्दी जेसिजको २४ औँ स्थापना दिवसमा साताब्यापी विविध कार्यक्रम गरिने भएको छ । आईतबार जेसिज कार्यालयमा बसेको म्याग्दी जेसिजको दोस्रो साधारणसभाले जेठ १५ गते देखि २१ गतेसम्म विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउने निर्णय गरेको हो । जेसिज सप्ताह कार्यक्रम सफल बनाउन जेसिजका पदाधिकरीहरुको संयोजकत्वमा कार्यविभाजन र जिम्मेवारी तोकिएको शाखा सम्पादक दिनेशकुमार विश्वकर्माले बताउनुभयो ।


म्याग्दी जेसिजले जेठ १५ गते जेसिज कार्यालयमा उद्घाटनसंगै सुरु गरिने सप्ताह कार्यक्रम अन्तरगत १६ गते निशुल्क दन्त परिक्षण, १७ गते राष्ट्रिय झण्डा अनावरण, १८ गते जेसिजगाउँ पुलाचौरमा निःशूल्क आँखा परिक्षणा, १९ गते सार्वजनिक भाषणकला तालिम, २० गते मेरो जनप्रतिनिधीलाई सुझाव र २१ गते जिसस सभाहलमा १८ औं अन्तर मा.वि. लोकनृत्य प्रतियोगिता सहित सप्ताह कार्यक्रम गरिने भएको छ ।

म्याग्दी जेसिजले युवाहरुको नेतृत्व, क्षमता र ब्यक्ति विकास, विद्यालयय स्तरीय खेलकुद प्रतियोगिता, पर्यटन प्रवद्र्धन र विभिन्न संघसंस्थामा आर्थिक सहयोग गरेर रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

अध्यक्ष सन्दिप खत्रीको अध्यक्षता भएको दोस्रो साधारणसभामा जेसिजको नेतृत्वमा भएका विभिन्न कार्यक्रमको प्रगति विवरण प्रस्तुतसंगै पारित गरिएको थियो ।