बेनी बजार जोगाउने तटबन्ध नबन्दा कटानको जोखिम यथावत

  • ८ जेष्ठ २०७९, आईतवार
  • 1103 पटक पढिएको

बेनी, ८ जेठ । गतबर्षको असार १ गते कालीगण्डकी नदीको उच्च बहाफले भत्काएको क्षेत्रमा तटबन्धको काम सुरु नहुदाँ बेनी बजार कटानको जोखिममा यथावत छ । बेनी नगरपालिका– ७ म्याग्दी जेसिजको भवन नजिक निर्माण कम्पनीले तटबन्ध निर्माण अझै सुरु गरेको छैन् ।


कालीगण्डकी नदीको बहाफले म्याग्दी जेसिज भवन नजिक ग्याविङ भत्काएको क्षेत्रमा यस बर्ष तटबन्ध निर्माणका लागि ठेक्का लागेपनि निर्माण ब्यवसायीले समयमा काम नगर्दा नदी कटानको जोखिम यथावत रहेको वडानम्वर ७ का वडाअध्यक्ष रमेश कुमार श्रेष्ठले बताए ।


ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बेनीस्थित कालीगण्डकी र म्याग्दी किनारमा तटबन्ध लगाउन गत माघमा ठेक्का लगाएको थियो । कालीपुल बसपार्क क्षेत्रमा बाहेक अन्य ठेकेदारले काम सुरु गरेको छैन् ।


जोखिमयुक्त क्षेत्रलाई कटानबाट जोगाउन नगरपालिकाले दोभानस्थित बगरको ठुला ढुंङ्गाको ब्यवस्थापन गरेको नगरप्रमुख सुरत केसीले बताए । संरक्षणको काम सुरु नभएको क्षेत्रमा तत्काल ठुला ढुङ्गाहरु राख्ने काम गर्न निर्माण ब्यवसायीलाई लगाएको केसीले जानकारी दिए । तत्काल यस क्षेत्रमा नदी बहाफलाई रोक्न ठुला ढुङ्गाको बोलर स्कीङ गरिने निर्माण ब्यवसायी शिव जिसीले बताए ।


बेनी बजार संरक्षण काम रौताह–बिएनबी कन्ट्रक्शनले ९ करोड ४५ लाख १७ हजार ७४२ रुपैयामा ठेक्का लिएर २०८० साल पुषसम्ममा सम्पन्न गर्ने सम्झौता रहेको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाका इञ्जिनीयर कृष्ण विश्वकर्माले जानकारी दिए । कालीपुलमा ८० र सगंमचोक पछाडि म्याग्दी जेसिजको भवन नजिकैको कालीगण्डकी किनारमा करिब १६८ मिटर आरसिसी र मङ्गलाघाटस्थित म्याग्दी किनारमा करिब ६० मिटर पर्खाल निर्माण ठेकेदारले गनुपर्छ ।