बेनी नगरमा नगर प्रमुख र उप–प्रमुखको पदभार ग्रहण : स्वास्थ्य सम्वन्धी निर्णय

  • ६ जेष्ठ २०७९, शुक्रबार
  • 975 पटक पढिएको

म्याग्दी, ६ जेठ। बेनी नगरपालिकामा नवनिर्वाचित नगर प्रमुख सुरत केसी र उप–प्रमुख ज्योती लामिछानेले पदभार ग्रहण गर्नुभएको छ । शुक्रबार बेनी नगरपालिकाको कार्यालयमा नगर प्रमुखको पदभार ग्रहणसंगै केसीले स्वास्थ्य सम्वन्धी तीन वटा निर्णय गर्नुभएको छ ।


नगरभित्र गरिवको रेखामुनी रहेका जनतालाई निशुल्क स्वास्थ्य विमा गर्नेे, ७० बर्ष माथिका जेष्ठ नागरिकलाई घरदैलोमा नै पुगेर नियमित स्वास्थ्य परिक्षण गर्ने र प्रत्येक महिना ४५ बर्ष माथिका नागरिकलाई नसर्ने रोगको स्वास्थ्य शिविर संचालन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।


पदभार ग्रहणसंगै कर्मचारीसंग परिचयात्मक कार्यक्रममा नगरप्रमुख केसीले जनप्रतिनिधि र कर्मचारी मिलेर नगरबासीलाई सरल र सहज रुपमा सेवाप्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले कार्यालय समयलाई जागिरको रुपमा भन्दा पनि जनताको सेवकरुपमा मानसिकता बनाई नागरिकलाई सहज ढंगले सेवाप्रवाह गर्न निर्देशन दिनुभयो ।


उहाँले जनतालाई अनुदान भन्दापनि सिप र क्षमता विकास गरी परिवारको आयस्रोत बढाउने तर्फ ध्यानाकर्षण गराउनुभयो । स्थानीय तहमा बेरुजुको समस्या रहेको भन्दै बेनी नगरलाई शुन्य बेरुजु पालिका बनाउने तर्फ ध्यान केन्द्रित गर्न कर्मचारीलाई अनुरोध गर्नुभयो । केसीले नीतिगत भष्ट्रचार न्यूनिकरण गरेर शुसासन कायम गर्न आग्रह गर्नुभयो ।


त्यस्तै उप्रमुख ज्योती लामिछानेले नगरपालिका भित्र हुने विकासलाई दिगो विकास रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । नगरभित्रका जनप्रतिनिधि र कर्मचारीको सहकार्यमा योजनाको अनुगमन र प्रभावकारी रुपमा न्यायिक समितिलाई संचालनमा सहयोग गर्न आग्रह गर्नुभयो । नगरभित्रका पुर्वाधार र सेवाहरु अपाङ्गमैत्री बालमैत्री रुपमा अघि बढाउने प्रतिवद्धता समेत जनाउनुभएको थियो । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालले बेनी नगरको गतिविधि जानकारी गराउनुभएको थियो ।