म्याग्दीमा एमाले पहिलो दल बन्यो, काँग्रेस खुम्चियो, माओवादी पालिका उप–प्रमुखमा उक्लियो

  • ६ जेष्ठ २०७९, शुक्रबार
  • 806 पटक पढिएको

बेनी, ६ जेठ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार, म्याग्दीमा चार वटा पालिका प्रमुखमा बिजयी हुँदै नेकपा एमाले पहिलो दल बनेको छ । २०७४ को निर्वाचनमा चार पालिकाको नेतृत्व सम्हालेको नेपाली काँग्रेस यस पटक दुई पालिकामा खुम्चिएको छ । एक पालिका उपप्रमुखमा बिजयी भएको राष्ट्रिय प्रजातन्त्र पार्टी शुन्य भएको छ भने नेकपा माओवादी केन्द्र दुई वटा पालिका उपप्रमुख पद हात पार्न सफल भएको छ ।


६ वटा स्थानीय तहमध्ये चार वटामा नेकपा एमाले र दुई वटामा नेपाली काँग्रेसले जित हात पारेका छन् । एमालेले बेनी नगरपालिकाको मेयर र तीन गाउँपालिकाको अध्यक्ष सहित तीन गाउँपालिका उपाध्यक्षमा बिजयी भएको छ । नेपाली काँग्रेस दुई गाउँपालिका अध्यक्ष र एक उपाध्यक्षमा बिजयी हुँदा नेकपा (माओवादी केन्द्र) ले बेनी नगरको उपमेयर र एक गाउँपालिका उपाध्यक्षमा जित हात पार्न सफल भएको छ । ४५ वटा वडाहरुमध्ये नेकपा एमालेले २२ वटा, नेपाली काँग्रेसले १७ र नेकपा (माओवादी) केन्द्रले ६ वटा वडाहरुमा वडा अध्यक्ष जितेका छन् ।
अघिल्ला निर्वाचनहरुमा आफ्नो ‘गढ’ दावि गरेका दलहरुलाई मतपरिणामले सचेत गराएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा म्याग्दीका चार स्थानीय तहमा जित हात पारेको नेपाली काँग्रेसले आफुले बिजयी गरेको बेनी नगरपालिका, मालिका र अन्नपूर्ण गाउँपालिका गरि तीन स्थानीय तह गुमाएको छ भने नेकपा एमाले बिजयी भएको धवलागिरि गाउँपालिकामा काँग्रेस–माओवादी गठबन्धनले जित हात पारेका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा धवलागिरि र मंगला गाउँपालिकाको नेतृत्व सम्हालेको नेकपा एमालेले यस पटक धवलागिरि गाउँपालिका गुमाएको छ भने बेनी नगरपालिका सहित मालिका, मंगला, र अन्नपूर्ण गाउँपालिका गरि चार पालिकामा जित हाँसिल गरेको छ ।
बेनी नगरको मेयरमा एमाले र उपमयेरमा माओवादी
बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेका सुरज केसी र उपमेयरमा नेकपा माओवादी केन्द्रकी ज्योती लामिछाने विजयी हुनुभएको छ । मेयर केसीले ७ हजार ६०३ मत र उपमेयर लामिछानेले ७ हजार ४३ मत प्राप्त गरि बिजयी हुनुभएको हो। मेयरका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार चिरञ्जीवी शर्माले ६ हजार २०४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपमेयरकी प्रतिस्पर्धी नेकपा एमालेकी पशुपती शाहीले ५ हजार ५०० मत प्राप्त गर्नुभएको छ । मेयरमा १ हजार ३९९ मत र उपमेयरमा १ हजार ५४३ मत अन्तरले केसी र लामिछाने विजयी हुनुभएको होे । बेनीमा काँग्रेस र माओवादीले गठबन्धन गरेका थिए भने एमाले एक्कै चुनाबी प्रतिस्पर्धामा थियो । बेनी नगरपालिकाको वडानम्वर १ मा नेकपा एमालेका टेकबहादुर थापा २ वडामा कांग्रेसका याम कार्की, ३ वडामा माओवादी केन्द्रका पदमबहादुर पुन, ४ वडामा माओवादी केन्दका्र अणबहादुर खड्का (भगवान), ५ वडामा एमालेका गोविन्द बानियाँ, ६ वडामा एमालेका कृष्णसिङ बानियाँ, ७ वडामा कांग्रेसका रमेश श्रेष्ठ, ८ वडामा एमालेका उत्तम कर्माचार्य, ९ वडामा कांग्रेसका चक्र केसी र १० वडामा एमालेका मस्विर रोका वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ ।
मालिकामा एमाले बिजयी
म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका बेगप्रसाद गर्बुजाले ३ हजार ९१ मत र उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी घर्ति पुनले ३ हजार १६७ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा काँग्रेसका श्रीप्रसाद रोकाले दुई हजार ९७० र माओवादीका रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत पाउनुभयो । उपाध्यक्षमा काँग्रेसकी पिपला बुढाथोकीले तीन हजार १३९ मत प्राप्त गर्नुभएको थियो । गर्वुजा २०७४ को चुनावमा काँग्रेसका रोकासँग ८५ मतले पराजित हुनुभएको थियो । ७ वटा वडा रहेको मालिकामा एमाले र काँग्रेसले ३÷३ र माओवादीले एक वटा वडा जितेका छन् । वडानम्बर १ मा काँग्रेसका टंकप्रसाद पुन, २ मा एमालेका उदयबहादुर बुढाथोकी, ३ मा माओवादीका मोतिप्रसाद बुढा, ४ मा काँग्रेसका भिजेन्द्रमान पुन, ५ मा काँग्रेसका मिम पुन, ६ मा एमालेका पथबहादुर रोका र ७ मा एमालेका टकबहादुर पुन वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
मंगलामा एमाले विजयी
मंगला गाउँपालिकाको अध्यक्षमा नेकपा सतप्रसाद रोका र उपाध्यक्षमा पेमा अधिकारी विजयी हुनुभएको छ । गाउँपालिकाको अध्यक्षमा निर्वाचित रोकाले कुल ३ हजार ९ सय ६८ मत प्राप्त गरि दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्षमा विजयी हुनुभएकी प्रेमा अधिकारीले ४ हजार २ सय ६१ मत लिनुभएको छ । अध्यक्षका प्रतिस्पर्धी नेपाली काँग्रेसका विरेन्द्र बुढाथोकीले २ हजार ८ सय ५ र नेकपा माओवादीका टेक बहादुर विकले १ हजार ५ सय २१ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा प्रतिस्पर्धी नेपाली काँग्रेसका शर्मिला थापाले २ हजार ५ सय ९५ र नेकपा माओवादीका सुकमाया रोकाले १ हजार ३ सय ७३ मत प्राप्त गर्नुभएको छ । मंगलामा एमालेले तीन वटा वडा, माओवादी र काँग्रेसले १/१ वटा वडा जितेका छन् । २०७४ सालको निर्वाचनमा जितेको वडा नम्वर ३ यसपटक एमालले गुमाएको छ भने गत चुनावमा सुन्य रहेको काँग्रेसले यसपटक एउटा वडा जितेको छ । मंगलाको १ मा एमालेका एकजीत रोका र २ माधनबहादुर खाती, ३ मा माओवादी केन्द्रका यामबहादुर रोका, ४ मा काँग्रेसका लालबहादुर रोका र ५ मा एमालेका भुपेन्द्र क्षत्री वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
धवलागिरीमा गठबन्धन विजयी
धवलागिरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । धवलागिरीमा नेपाली कांग्रेस र माओवादी केन्द्रको तालमेल गरेर निर्वाचन लडेका थिए । मतपरिणाम अनुसार, अध्यक्षमा कांग्रेसका प्रेमप्रसाद पुनले ३ हजार १२३ र उपाध्यक्षमा माओवादीका रेशम पुनले २ हजार ८१२ मत पाएर निर्वाचित हुनुभएको छ । अध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार थमसरा पुनले २ हजार ५४८ र उपाध्यक्षमा एमालेका प्रगति कार्कीले २ हजार ६१८ मत पाउनुभएको निवाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। सात वटा वडा रहेको धवलागिरी गाउँपालिकामा नेपाली कांग्रेसले २, एमालेले ३ र माओवादीले २ वटा वडामा अध्यक्ष जितेका छन् । वडानम्वर १ मा माओवादीका झक छन्त्याल, २ मा एमालेका अकप्रसाद विक, ३ मा कांग्रेसका देवेन्द्र रोका, ४ मा एमालेका यामबहादुर घर्ति, ५ मा कांग्रेसका अमर छन्त्याल, ६ मा एमालेका राजाराम उपाध्याय र ७ मा माओवादीका अशोक खत्री वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ।
रघुगंगामा कांग्रेस विजयी
म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उमेद्वार विजयी भएका छन् । काँग्रेसका भवबहादुर भण्डारीले ४ हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेसकै प्रेमकुमारी पुनले ३ हजार ३६४ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । भण्डारी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षमा एमालेका प्रेमबहादुर कार्कीले ३ हजार २७९, नेकपा माओवादी केन्द्रकी मिना बिकले ९९५, उपाध्यक्षमा एमालेकी यामकुमारी गर्बुजाले तीन हजार २४५ र माओवादी केन्द्रका रिमबहादुर कटुवालले एक हजार ७८३ मत प्राप्त गर्नुभएको थियो । आठ वटा वडा रहेको रघुगंगाको पाँच वटा वडा काँग्रेस र तीन वटा वडामा एमालेका उमेदवार प्यानल सहित विजयी भएका छन् । रघुगंगा–१ बेगमा काँग्रेसका बिलबहादुर फगामी, २ भगवतीमा एमालेका अमृत भण्डारी, ३ पिप्लेमा एमालेका खिमबहादुर शाही, ४ दग्नाममा काँग्रेसका पविन गर्बुजा, ५ झिँमा काँग्रेसका मनबहादुर शेरमञ्जा, ६ पाखापानीमा काँग्रेसका मनकुमार शेरपुञ्जा, ७ चिमखोलामा एमालेका थकबहादुर पाइजा (रिम) र ८ कुइनेमंगलेमा काँग्रेसका गमान छन्त्याल वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
अन्नपूर्णमा नेकपा एमाले विजयी
अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार भरत पुनले ४ हजार ५८ मत र उपाध्यक्षका उम्मेदवार दिवा पुनले ४ हजार १५ मत ल्याएर विजयी हुनुभएको हो । अध्यक्षका प्रत्यासी काँग्रेसका बलबहादुर तिलिजाले ३ हजार ३ सय १७ मत र उपाध्यक्षका प्रत्यासी काँग्रेसका ललिता तिलिजाले ३ हजार ३ सय ५८ मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा ७ सय ४१ र उपाध्यक्षमा ६५७ मत अन्तरले एमालेका उम्मेदवार बिजयी हुनुभएको छ ।
८ वटा वडा रहेको अन्नपूर्णमा एमालेले ५ वटा वडा सहित गाउँपालिका प्रमुख र उपप्रमुखमा बिजयी हाँसिल गर्दा काँग्रेसले ३ वटा वडामा बिजयी भएको छ । अघिल्लो निर्वाचनमा अन्नपूर्णमा नेपाली काँग्रेसले अध्यक्ष र उपाध्यक्षमा जित हाँसिल गरेको थियो । अन्नपूर्णको वडा नम्बर १ मा एमालेका दिलिप कुमार गर्वुजा, २ मा एमालेका ओमप्रकाश फगामी, ३ मा एमालेका रमेश पुर्जा, ४ मा काँग्रेसका लोकबहादुर फगामी, ५ मा काँग्रेसका राजेश तिलिजा, ६ मा काँग्रेसका रामबहादुर खड्का, ७ मा एमालेका माइलन पुर्जा पुन र ८ मा एमालेका खमबहादुर गर्वुजा वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।