मालिकाका गर्वुजा र बरंजाका रोका पहिला जोसंग हारे, अहिले उनैलाई हराए

  • ६ जेष्ठ २०७९, शुक्रबार
  • 795 पटक पढिएको

बेनी, ६ जेठ । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा अघिल्लो निर्वाचनमा पराजित भएका नेकपा एमालेका बेगप्रसाद गर्वुजाले उनै प्रतिस्पर्धीलाई पराजित गर्नुभएको छ । निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहनुभएकाका श्रीप्रसाद रोकालाई गर्वुजाले पराजीत गर्नुभएको हो ।


२०७४ सालको निर्वाचनमा काँग्रेसका रोकाले गर्वुजालाई ८५ मतले पराजीत गरी बिजयी बन्नुभएको थियो । यस पटकको निर्वाचनमा गर्वुजाले रोकालाई १२१ मत अन्तरले हराउँदै जित हाँसिल गर्नुभएको हो । गर्बुजाले ३ हजार ९१ मत ल्याएर बिजयी हुँदा काँग्रेसका रोकाले दुई हजार ९७० र माओवादीका रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत प्राप्त गर्नुभएको छ । १३ हजार २०१ मतदाता रहेको मालिका गाउँपालिकामा ८८४५ मत खसेको थियो ।

त्यसैगरि मंगला गाउँपालिका–३  बरंजामा नेकपा माओवादी केन्द्रका यामबहादुर रोकाले अघिल्लो निर्वाचनमा आफुलाई पराजीत गर्दै बिजयी हुनुभएका नेकपा एमालेका कबिन्द्र रोकालाई पराजीत गर्दै वडा अध्यक्षमा चुनिनुभएको छ । निवर्तमान वडा अध्यक्ष समेत रहनुभएका कबिन्द्रलाई २१४ मतान्तरले पराजीत गर्दै यामबहादुर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

वडा अध्यक्षका उम्मेदवार याम बहादुर रोकाले ७ सय ९१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका कविन्द्र रोकाले ५ सय ७७ र नेपाली काँग्रेसका टेक बहादुर छन्त्यालले २ सय १५ मत प्राप्त गर्नुभएको छ । अघिल्लो निर्वाचनमा कबिन्द्रले ६०५ मत प्राप्त गरि बिजयी हुँदा यामले ५२७ मत प्राप्त गर्नुभएको थियो ।

६ स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा नेकपा एमालेले २२ वटा वडा सहित चार स्थानीय तहमा प्रमुख, तीन स्थानीय तहमा उप–प्रमुख, नेपाली काँग्रेसले १७ वटा वडा सहित दुई स्थानीय तहमा प्रमुख र एकमा उप–प्रमुख, नेकपा माओवादी केन्द्रले ६ वटा वडा सहित दुई स्थानीय तहमा उप–प्रमुखमा बिजयी हाँसिल गरेका छन् ।