रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारीको पहिलो निर्णय ‘वेपत्ता भएकाको सम्झनामा चौतारी निर्माण’

  • ४ जेष्ठ २०७९, बुधबार
  • 1221 पटक पढिएको

बेनी, ३ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष भवबहादुर भण्डारीले तत्कालिन माओवादी जनयुद्धको समयमा वेपत्ता भएका नागरिकको सम्झनामा चौतारी निर्माण गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । बुधवार पद तथा गोपनीयताको सपथ ग्रहण प्रश्चात पदभार ग्रहण गर्दै अध्यक्ष भण्डारीले २०६० चैत ५ गतेदेखि वेपत्ता हुनुभएका रघुगंगा गाउँपालिका–१ बेगखोलाका श्याम प्रसाद रुचाल नेपालीको सम्झनामा चौतारी निर्माण गर्ने टिप्पणी आदेशमा हस्ताक्षर गर्नुभएको हो ।

अध्यक्ष भण्डारीले अन्य सार्वजनिक निर्माणबाट खर्च हुने गरि चौतारी निर्माण गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, बेगखोलाको उपयुक्त स्थानमा उक्त चौतारी निर्माण निर्माण गरिनेछ । वेपत्ता पारिएका व्यक्तिहरुको परिवारलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रमहरु तय गर्न वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सबै स्थानीय तहलाई पत्राचार समेत गरेको थियो ।

काँग्रेसबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षमा निर्वाचित भण्डारी निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुनुहुन्छ ।
बुधवार नै रघुगंगाका सबै जनप्रतिनिधिहरुलाई निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले निर्वाचित भएको प्रमाणपत्र समेत प्रदान गर्नुभएको थियो । मुख्य निर्वाचन अधिकृत तेजनाराण पौडेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेपछि अध्यक्ष भण्डारीद्धारा गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुन लगायत ८ वटै वडाका जनप्रतिनिधिलाई सपथ ग्रहण गराईएको थियो ।