बेनी नगरमा नवनिर्वाचित एवम् निर्वतमान जनप्रतिनिधिलाई स्वागत तथा विदाई

  • ४ जेष्ठ २०७९, बुधबार
  • 979 पटक पढिएको

 

बेनी, ४ जेठ ।बेनी नगरपालिकामा नर्वनिर्वाचित जनप्रतिनिधिलाई स्वागत र निवर्तमान जनप्रतिनिधिलाई विदाई गरिएको छ। बुधबार नगरपालिकाको कार्यालयमा कर्मचारीले निर्वतमान जनप्रतिनिधिलाई विदाई र नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत एवम् सम्मान गरेका हुन् ।


निर्वतमान नगरप्रमुख श्रेष्ठ र उपप्रमुख बरुवालले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत एवम् सम्मान गर्नुभएको थियो । बेनी नगरपालिकाको नवनिर्वाचित मेयर सुरत केसी र उपमेयर ज्योती लामिछाने र वडाअध्यक्ष लगायत सदस्यहरुलाई स्वागत एवम् सम्मान गरिएको थियो भने निर्वतमान मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सञ्जु बरुवाललाई विदाई गरिएको थियो ।


स्वागत एवम् विदाई कार्यक्रममा नवनिर्वाचित मेयर सुरत केसीले जनताको आयस्तर सुधार गर्नका लागि नगरपालिकाभित्र जनप्रतिनिधी र कर्मचारी मिलेर नगरबासीको सेवक रुपमा काम गर्नुपर्ने बताउनुभयो । नगरभित्रका जनताले छिटो र छरितो सेवाप्रवाहका लागि कार्यालय समयलाई मात्र ध्यान केन्द्रित नगर्न र आज हुने कामलाई भोलि हुन्छ भनेर सेवाग्राहीको समय बर्वाद नगरिदिन आग्रह गर्नुभएको थियो । त्यस्तै उपमेयर ज्योती लामिछाने विगतका राम्रा कामलाई निरन्तरता र थप नयाँ कामलाई आगामी योजनामा प्राथमिकता राखेर नगरबासीको पक्षमा सक्रिय भएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।


निर्वतमान मेयर श्रेष्ठले संघियताको पहिलो कार्यकालमा स्थानीय ऐन नियमको निर्माणको कामले जनता विच राखेका सबै प्रतिवद्धता पुरा गर्न नसेकेपनि सुरुवात गरेको बताउदै निरन्तरता दिएर पुरा गरिदिन नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । उहाँले नगरपालिकाको कार्यालय ब्यवस्थापन देखि आवश्यक ऐननियम तयार भएको जानकारी दिनुभयो । निर्वतमान उपमेयर बरुवालले संघियतापछि पहिलो कार्यकालका जनप्रतिनिधिहरुले कार्यालय ब्यवस्थापन, ऐन नियम निर्माण गरेर अघि बढेको बताउदै यसैमा रहेर नवनिर्वाचित जनप्रतिनिधि र कर्मचारीविच सहकार्य गरेर थप रचनात्मक काम गर्न सुझाव दिनुभएको थियो ।


त्यस्तै प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालले नगरपालिकाभित्र असारे विकासको नियन्त्रण, नगर आयस्रोत वृद्धि र नगरपालिकाको थप कार्यालय भवन निर्माणमा पहल तथा ध्यान केन्द्रित गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभएको थियो । उहाँले आगामी आर्थिक बर्षको बजेटमा तीन लाख भन्दा कमका टुक्रे योजना निर्माण नगर्न वडाका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको थियो । मेयर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शाखा अधिकृत युवराज थापाले गर्नुभएको थियो ।