म्याग्दीमा निर्वाचन प्रचार प्रसारमा हेलिकप्टर प्रयोग

  • २७ बैशाख २०७९, मंगलवार
  • 920 पटक पढिएको

बेनी, २७ वैशाख । म्याग्दी मा चुनाव प्रचार प्रसार गर्न हेलीकप्टर प्रयोग भएको छ । भौगोलिक रुपमा दुर्गम र विकट क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिका–१ गुर्जामा भोट माग्नका लागि उमेद्वार हेलिकप्टर चढेर पुगेका छन् ।

नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उमेद्वार थमसरा पुन र उपाध्यक्षका उमेद्वार प्रगति कार्की मंगलबार हेलिकप्टरबाट गुर्जा पुगेर फर्कनुभएको हो ।

धवलागिरी गाउँपालिका–७ ताकमबाट फिस्टेल एयरको हेलिकप्टर चढेर अपराहन्न करिब चार बजे गुर्जा पुगेका पुन र कार्कीले त्यहाँ करिब एक घण्टा मतदाता भेटघाट र कोणसभा गरेर फर्किएको स्थानीयबासीले बताएका छन् ।

छिमेकी वडा लुलाङबाट पुरै दिन पैदलयात्रा गरेर पुगिने गुर्जामा ताकमबाट हेलिकप्टरले दुई वटा उडान गरेको थियो । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, नेकपा एमालेका जिल्ला सदस्य इश्वर सुवेदी, एमाले गाउँपालिका कमिटीका उपसचिव विजय घर्ती, नेता दलमान पुन र गुर्जा घर भई हाल पोखरा बस्दै आएका सुवास छन्त्याल गुर्जा जानुभएको थियो ।

छन्त्याल र सुवेदी मतदान केन्द्रमा पार्टी प्रतिनिधीका लागि गुर्जामै बसेका छन् । अन्य चार जना ताकम फर्किएका छन् । एमालेका जिल्ला सदस्य सुवेदीले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्र भएकाले हिडेर जान सम्भव नभएपछि हेलिकप्टरमा जानुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको प्रतिक्रीया दिनुभयो ।

‘म र सुवास जि एजेन्ट बस्न गुर्जामै छौ,’ उहाँले भन्नुभयो ‘मतदाता भेटेर अध्यक्ष, उपाध्यक्षका उमेद्वार फर्किसक्नुभयो । हेलिकप्टर प्रयोग गर्नुपर्ने बाध्यता भयो ।’ गुर्जाबाट फर्कदा दुई जना बिरामीलाई पनि हेलिकप्टरमा पठाएको सुवेदीले बताउनुभयो ।

धवलागिरी गाउँपालिकाका निर्वाचन अधिकृत भोलाराज रेग्मीले हेलिकप्टर प्रयोगका लागि कोही पनि उमेद्वारले अनुमति नलिएको बताउनुभयो । ‘चुनाव प्रचारमा उमेद्वारले हेलिकप्टर प्रयोग गर्न पाउने नपाउने भन्ने आचार संहितामा उल्लेख छैन,’ उहाँले भन्नुभयो ‘उमेद्वारले पेश गर्ने खर्चको सिमाको विषय हो । उमेद्वारले हेलिकप्टर प्रयोग गरेको हामीलाई जानकारी छैन् ।’

नेपाली काँग्रेसका गाउँपालिका अध्यक्षका उमेद्वार प्रेमप्रसाद पुनले भने आचार संहिता उल्लङ्घन विपरित मतदातालाई प्रभावित बनाउन हेलिकप्टर चढेर बाहिरी ब्यक्तिहरु लगिएको र मतदाताले स्वतन्त्र हिसाबले मतदान गर्ने वातावरण बनाउन माग गर्नुभयो ।

यसअघि सोमबार नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा लगायतका नेताहरु बेनीबाट हेलिकप्टर चढेर मालिका गाउँपालिका–२ रुममा भएका चुनावी सभामा जानुभएको थियो । एक वटा मात्र मतदान स्थल र केन्द्र रहेको गुर्जामा ७६४ जना मतदाता छन् ।

गुर्जाको वडा अध्यक्ष र दुई जना सदस्य नेकपा माओवादी केन्द्रका, एक जना नेपाली काँग्रेसका र एक जना स्वतन्त्र उमेद्वार निर्बिरोध भएका छन् । धवलागिरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् । सात वटा वडा रहेको धवलागिरीमा एमाले र काँग्रेस–माओवादीको प्रतिस्पर्धा छ ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको ३७ वटा पदका लागि ८४ जना उमेद्वार छन् । १० हजार ९४० जना मतदाता रहेको धवलागिरीमा १२ वटा मतदान स्थल र १६ वटा मतदान केन्द्र छन् ।