मतदान अधिकृतलाई तालिम

  • २४ बैशाख २०७९, शनिबार
  • 755 पटक पढिएको

 

म्याग्दी, २४ वैशाख । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा खटिने म्याग्दीका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ । जिल्लामा ७४ वटा मतदानस्थलको ११४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार देखि बेनीमा तालिम सञ्चालन गरिएको हो । जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बेनी सामुदायिक माविमा तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“धवलागिरी, मालिका र अन्नपूर्ण गाउँपालिकाका पुरै, रघुगंगाको ४, ५, ६, ७ र ८ का मतदान र सहायक मतदान अधिकृतहरुलाई शनिबार तालिम दिइएको छ,” उहाँले भन्नुभयो “बेनी नगरपालिका, मंगला गाउँपालिका र रघुगंगाको १, २ र ३ नम्बर वडाकालाई आइतबार तालिम सञ्चालन गर्दैछौ ।” तालिममा मतदानको प्रक्रीया, कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ । उनीहरूलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकाको विषयमा तालिम दिइएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो ।

उहाँका अनुसार मतपेटिका राख्ने ठाउँ, रुजु गर्नेलगायत मतदान कार्यलाई व्यवस्थित गर्ने तरिका बारेमा सिकाइएको छ । साथै मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के गर्ने लगायत विषयमा तालिममा जानकारी गराइएको छ ।

 

निर्वचनमा खटिएर गइसकेपछि निष्पक्ष तरिकाले काम कसरी गर्ने भन्ने विषयमा तालिम दिइएको छ । तालिमको सहजीकरण मुख्य निर्वाचन अधिकृत पौडेल, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, धवलागिरी, अन्नपूर्ण, मंगला, मालिका र रघुगंगाका निर्वाचन अधिकृतहरु क्रमश ः भोलाराज रेग्मी, जानुका सुवेदी, धर्मराज पौडेल, गोविन्द उपाध्याय र तेजप्रसाद पौडेल तथा निर्वाचन अधिकारी घिमिरेले सहजिकरण गर्नुभएको छ ।

छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एक जना तेस्रो लिङ्गी गरि ८५ हजार ३७५ जना मतदाता छन् । निर्वाचित हुने २३७ पदका लागि ७१८ जना उमेद्वार चुनावी प्रतिस्र्धामा धन् । मतदान र सहायक मतदान अधिकृत नियुक्तीसँगै मतदान स्थल, निर्वाचन अधिकृतको कार्यालय र अन्य सुरक्षा ब्यवस्थालाई चुस्ता पारिएको प्रजिअ रानाले बताउनुभयो ।