च्युरीबोटमा कांग्रेसको चुनावी सभा

  • २२ बैशाख २०७९, बिहीबार
  • 739 पटक पढिएको

म्याग्दी, २२ बैशाख । नेपाली कांग्रेसले जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरीबोटमा चुनावी कार्यक्रम गरेको छ । बुधबार च्युरीबोट आयोजित कार्यक्रममा उम्मेद्धारीहरुले सुशासन सहित समृद्ध गाउँपालिका निर्माण गर्न आफुहरुलाई भोट दिन आह्वान गरेका छन् । कार्यक्रमलाई कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले सम्बोधन गर्दै सुशासन सहितको समृद्धको लागि कांग्रेसका उम्मेद्धारहरुलाई मतदान गर्न अपिल गर्नुभयो ।


कार्यक्रममा मालिका गाउँपालिका अध्यक्षका उम्मेद्धार श्रीप्रसाद रोका मगर वडा नम्बर ४ लगायत सात वटै वडाका जनताको आवश्यकता र समस्या पहिचान गरी आफुहरुले काम गर्ने बताउनुभयो । वडा नम्बर ४ को ओखरबोट स्थित तामाखानी उत्खनन गर्ने प्रक्रियाको काम अघि बढेको उहाँको भनाई छ । पहिलो कार्यकालमा अधुरा रहेका योजनाहरु पुरा गर्न र समद्ध गाउँपालिका निर्माण गर्न आफुले पुनःउम्मेद्धारी दिएको बताउनुभयो ।


पहिलो कार्यकालमा विकासका आधारभुत सुरक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, केन्द्रीय प्रसारण लाइनको विद्युतको पहुँच नपुगेका बस्तीमा स्थानीय उत्पादित लघुजलविद्युतको स्तरोन्नती तथा दुर्गम बस्तीमा सोलार वितरण लगायत सुविधा दिन सकिएको निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहनुभएका अध्यक्षका उम्मद्वार रोका मगरले बताउनुभयो । गाउँपालिकामा भएका हरेक गतिविधिलाई पारदर्शी बनाउने ,सुशासन कायम गर्ने प्रयत्न गरेको गरेको उहाँको भनाई छ । एमाले र माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुको सहयोगमा पहिलो कार्यकाल सफल भएको उहाँले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष उम्मेद्वार पिपला बुढाले महिला , दलित र पिछडीएका समुदायको हक अधिकार थप प्रभावकारी बनाउने बताउनुभयो । निवर्तमान वडा नम्बर ५ की वडा अध्यक्ष समेत रहनुभएकी उपाध्यक्ष उम्मेद्वार बुढाले गाउँपालिकामा महिलाहरुले पाउने सेवालाई सरल बनाउँदै न्यायीक सेवालाई समेत प्रभावकारी बनाउने उहाँले योजना सुनाउनुभयो । वडा अध्यक्षका उम्मेद्वार भेजेन्द्रमान पुनले वडाको समग्र विकास र सुशासन कायम गर्न आफुले काम गर्ने बताउनुभयो ।

माओवादीबाट निर्वाचित जनप्रतिनिधिले जनताको अपेक्षा अनुसार काम नगरेको उहाँले बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा वडा भित्रका सबै गाउँमा समान रुपमा बजेट वितरण प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा चुनाव प्रचारप्रसार संयोजक मनमोहन बुढाथोकी छन्त्याल , कांग्रेस मालिका गाउँपालिकाका कार्यवाहक सभापति विरेन्द्र पुन , प्रचारप्रसार सदस्य लेकबहादुर पुन र वडा सदस्य उम्मेद्धार गर्भे गुरुङले वडाको विकास गर्न कांग्रेसका उम्मेद्वारहरुलाई विजयी बनाउन अपिल गर्नुभयो । कांग्रेस प्रदेशसभा खका सचिव हिरा पुनले संचालन गर्नुभएको कार्यक्रममा वडा इकाई सभापति तमबहादुर पुनले स्वागत गर्नुभएको थियो ।