गुर्जामा निशूल्क स्वास्थ्य शिविर, दुई सय जना लाभान्वित

  • २० बैशाख २०७९, मंगलवार
  • 1025 पटक पढिएको

बेनी, २० वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा मंगलबार आयोजित निशूल्क स्वास्थ्य शिविरबाट दुई सय जना लाभान्वित भएका छन् । वडा कार्यालयसँग समन्वय गरेर शिविर आयोजना गरेको द नानुम पल्स र मुगुङ्गवा वेलफेयर वल्र्डले गुर्जा स्वास्थ्य चौकीलाई १४ लाख ८४ हजार चार सय मूल्य बराबरको औषधी उपकरण सहयोग गरेका छन् ।

एक थान अक्सिजन कन्सनट्रेटर, इएनटी मेडिसिन, फोरकेप सेट र औषधी उपलब्ध गराइएको हो । संस्थाका प्रतिनिधी लिम जङ्ग हि र छोम जङ्ग हिले वडा अध्यक्ष झकबहादुर छन्त्याललाई सामग्री र औषधी हस्तान्तरण गर्नुभएको थियो । चिकित्सक लोकेन्द्र छन्त्याल, गुर्जा स्वास्थ्य चौकीका सागर रोका, सुस्मिता छन्त्याल, रिमा शर्मा लगायत स्वास्थ्यकर्मी र कर्मचारीले सेवा दिनुभएको थियो । स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण गरिएको थियो ।

जेष्ठ नागरिकहरुमा स्वासप्रस्वास र निमोनिया सम्बन्धी समस्या धेरै देखिएकाले सोबाट बच्ने उपाय र उपाचारका बिषयमा जानकारी गराइएको चिकित्सक छन्त्यालले बताउनुभयो । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जाका वासिन्दालाई गाउँमै स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन शिविर आयोजना गरिएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । सडक यातायातको सुविधा नपुगेको गुर्जा पुग्न छिमेकी वडा लुलाङबाटै पुरै दिन हिड्नुपर्छ ।