दिच्याममा कांग्रेसको चुनावी कार्यक्रम
- २० बैशाख २०७९, मंगलवार
- 833 पटक पढिएको
बेनी २० वैशाख । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दिच्याममा चुनावी कार्यक्रम गरेको छ । मंगबार आयोजित चुनावी कार्यक्रममा कांग्रेसका उम्मेद्धारहरुले आफ्ना भावी योजनाहरुका बारेमा मतदातालाई बुझाउँदै मत दिन आह्वान गरे । निवर्तमान अध्यक्ष समेत रहनुभएका गाउँपालिका अध्यक्षका उम्मेद्वार श्रीप्रसाद रोका मगरले सबैको सहयोगमा पहिलो स्थानीय तहको चुनावमा आफु अध्यक्ष पदमा विजयी भएको र पहिलो कार्यकाल सफल भएको बताउँदै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले आफ्नो पहिलो कार्यकालमा भएका उपलब्धी र पहलका बारेमा दिच्यामबासीलाई सुनाउनुभयो । सबै वडालाई समान रुपमा बजेट वितरण गरेको बताउनुभयो । आफ्नो पहिलो कार्यकालमा आधारभुत विकासमा महत्वपुर्ण उपलब्धी हासिल गरेको र सुशासन कायम गर्न प्रयत्न गरेको उहाँको भनाई छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उम्मेद्वार पिपला बुढाले गाउँपालिकालाई समृद्ध बनाउन आफुले उम्मेद्वारी दिएको बताउनुभयो । वडा नम्बर ५ की निवर्तमान वडा अध्यक्ष समेत रहनुभएकी बुढाले आफ्नो नेतृत्वमा वडाको समग्र विकास ,सुशासन कायम लगायत विभिन्न क्षेत्रमा महत्वपुर्ण उपलब्धी हासिल गरेको बताउनुभयो ।
उपाध्यक्ष उम्मेद्धार तथा महिला नेतृ बुढाले गाउँपालिकामा महिलाहरुले पाउने सेवालाई सरल बनाउँदै न्यायीक सेवालाई समेत प्रभावकारी बनाउने उहाँले योजना सुनाउनुभयो । वडा अध्यक्षका उम्मेद्वार खिमबहादुर पुनले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै वडाको विकास र सुशासनको लागि आफुले उम्मेद्धारी दिएको बताउनुभयो कांग्रेस मालिका गाउँपालिका सभापति समेत रहनुभएका उहाँँले भुगोल ,जनसंख्या र वडाबासीको आवश्यकताको आधारमा आफुले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि नेता बलभद्र ढकाल ,वडा नम्बर १ का वडा अध्यक्ष उम्मेद्धार तथा प्रदेशसभा खका सभापति टंकप्रसाद पुन ,चुनाव प्रचारप्रसार समिति संयोजक मनमोहन छन्त्याल ,कांग्रेस मालिका गाउँपालिकाका कार्यवाहक सभापति विरेन्द्र पुन ,वडा सदस्य उम्मेद्धार रानु जुग्जाली लगायतले कांग्रेसका उम्मेद्धारहरुलाई जिताउन सबैलाई आह्वान गर्नुभयो । चुनाव प्रचारप्रसार समिति संयोजक मनमोहन छन्त्यालको सभापतित्व ,वडा अध्यक्षका उम्मेद्धार पुनले स्वागत र प्रदेश सभा खका सचिव हिरा पुनले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले र माओवादी परित्याग गरी करिब २० जना स्थानीय नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए ।