बेनीमा सञ्चालित निःशुल्क मुटुरोग शिविरबाट १५ सयबढी बिरामीहरु लाभान्वित

  • १८ बैशाख २०७९, आईतवार
  • 1077 पटक पढिएको

 

म्याग्दी, १८ बैशाख । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित निःशुल्क मटुरोग परीक्षणसम्बन्धी शिविरबाट कुल १५ सयजना भन्दाबढी बिरामीहरु लाभान्वित भएका छन् । दुई दिनको शिविरमा १५ सय ५ जनाले मुटुको परीक्षण गर्नुका साथै औषधी उपचारको सेवा लिएका हुन् ।

‘सेभ द हार्ट’ काठमाडौंको आयोजना, म्याग्दीको ओमकुमारी शान्ति कोष, म्याग्दी प्रवासी नेपाली संघ मोना कतार र ईशा फाउण्डेशनको सह–आयोजना, मनमोहन कार्डियोथेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौं तथा बेनी अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा म्याग्दी जेसीज, बरंजा छात्रवृत्ति अक्षयकोष, लायन्स क्लब अफ बेनी पिस सिटी, धौलागिरि कालिका हाईड्रो, म्याग्दी प्रवासी नेपाली संघ मोना बहराईन र हङकङले सहयोग गरेका थिए ।

दुई दिनसम्म चलेको उक्त शिविरमा परीक्षण गरिएकामध्ये ४९ जनामा मटुरोगको समस्या पहिचान भएकोमा ४१ जनाको तुरुन्तै उपचार गर्नुपर्ने देखिएको सेभ द हार्ट काठमाडौंका अध्यक्ष एवं एशोसियट प्रोफेसर वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराईले बताउनुभयो । उहाँले शिविरमा ८ सय ६३ जनाको मुटुको इसिजी, २१ जनाको मुटुरोग पहिचान र १३ जनामा हार्टअट्याक पत्ता लागेकोमा १६ जना अप्रेसन गरेका बिरामीको फ्लोअप उपचार गरिएको जानकारी दिनुभयो ।

निःशुल्क मटुरोगको शिविरमा मुटुमा समस्या देखिएका बिरामीहरुलाई काठमाडौंमा उपचार गर्नका लागि बोलाइएको छ भने उच्च रक्तचापका समेत बिरामी भेटिएका थिए । शिविरमा म्याग्दीसहित छिमेकी जिल्ला पर्वत, बागलुङ र मुस्ताङबाट सेवा लिन बिरामीहरु आएका थिए । शिविरमा चेकजाँचको क्रममा अधिकांश बिरामीहरुमा मुटुको समस्या देखिएकाले आगामी दिनमा पनि शिविर सञ्चालन गरिने बताउँदै डा. भट्टराईले स्वास्थ्य सतर्कता अपनाउन सुझाव दिनुभएको छ ।

शिविर सफल बनाउन उपचारमा खट्ने चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीलाई कदरपत्र, सहयोगीदातालाई सम्मान र स्वयंसेवकलाई प्रशंसापत्र प्रदान गरिएको छ। चिकित्सक, सहयोगी र स्वयंसेवकलाई सम्मान गर्दै ओमकुमारी शान्ति कोष म्याग्दीका अध्यक्ष राजेश शाक्यले भविष्यमा जिल्लाका सर्वसाधारण नागरिकलाई लक्षित गरेर विभिन्न किसिमका स्वास्थ्य शिविरहरु निःशुल्क रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो ।

शिविरमा निःशुल्क मुटुको परीक्षण, इको कार्डियोग्राफी, इसिजी र औषधी वितरण गरिनुका साथै परामर्श सेवा पनि उपलब्ध गराइएको थियो । शिविरमा विशेषज्ञ डाक्टर, चिकित्सक, स्टाफनर्स, स्वास्थ्यकर्मीसहित झण्डै ४० जनाको टोलीले बिरामीको उपचार गरेको थियो । सेभ द हाटको आयोजनामा हालसम्म नेपालको २३ वटा जिल्लामा निःशुल्क मुटुरोगको शिविर आयोजना गरिएकोमा म्याग्दीको ९६औं शिविर भएको जनाइएको छ ।