दुर्गम बस्ती गुर्जामा गृहमन्त्री खाँडः विकासमा सरकारी तवरबाट पहल गर्ने प्रतिबद्धता (फोटो फिचर)

म्याग्दी २५ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलो पटक मन्त्रीस्तरबाट स्थलगत भ्रमण भएको छ । म्याग्दी सदरमुकाम बेनीमा आयोजित एक समारोहमा सहभागी हुन शुक्रवार म्याग्दी आउनुभएका गृहमन्त्री बालकृष्ण खाँडले हेलिकप्टर मार्फत सडक सञ्जालको पहुँच नपुगेको दुर्गम बस्ती गुर्जाको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ ।


छन्त्याल समुदायको बाहुल्यता रहेको दुर्गम बस्ती गुर्जाको अवलोकन गर्दै गृहमन्त्री खाँडले दुर्गमको मापदण्डलाई बदलेर सडक लगायतका पूर्वाधार नपुगेका ठाउँलाई बिशेष प्राथमिकता दिन लागीपर्ने प्रतिबद्धता जनाउनुभयो । ‘‘ गुर्जामा पुग्दा म स्तब्ध भएँ, नागरिकहरु यस्तो विकट ठाउँमा पनि बसेका रहेछन, सदरमुकामबाट गाँउ पुग्नै ३÷४ दिन लाग्ने, गाउँबाट खेतबारीमा पुग्न पनि उस्तै समय लाग्ने’–उहाँले भन्नुभयो ।
गुर्जाबाटै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेललाई फोन सम्पर्क गरि गृहमन्त्री खाँडले सडक नपुगेका स्थानलाई अति दुर्गम स्थानको रुपमा परिभाषित गरि नागरिकले पाउने सुविधा र कर्मचारीलाई दिने भत्तामा सतप्रतिशत बृद्धि गर्न निर्देशन दिनुभयो । जिल्ला सदरमुकाम र बिकट बस्तीमा एउटै सुविधा न्यायोचित नभएको उहाँको भनाई छ । गृहमन्त्री खाँडले हेलिकप्टर बाटै गुर्जाको लागि प्रस्ताब गरिएको लुलाङ–गुजाृ सडकमार्गको समेत निरिक्षण गर्नुभएको थियो ।
उहाँलाई स्थानीयबासीले भव्य स्वागत गरेका थिए । गाउँमा पहिलो पटक मन्त्रीको आगमन भएपछि स्थानीयबासीले उत्साहित भएर आफ्ना समस्या र गुनासा गृहमन्त्री सामु राख्ने अवसर पाएको मन्त्रीको भ्रमण गराउन समन्वय गर्नुभएका अगुवा दिप छन्त्यालले बताउनुभयो ।  गृहमन्त्रीलाई वडा सदस्य सिता छन्त्याल र नेपाली काँग्रेस गुर्जाका सभापती केआइसीङ छन्त्यालले गाउँको समस्याबारे ध्यानकर्षण गराउनुभएको थियो । स्थानीयबासीको गुनासा सुनेपछि गृहमन्त्री खाँडले गुर्जामा विकासको पूर्वाधार र नागरिकको सुविधाका लागि सरकारी तवरबाटै पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । गुर्जा, चुरेन लगायतका हिमालको काखमा अवस्थित गुर्जाका स्थानीयबासीलाई सिमा रक्षकको रुपमा समेत प्रसंसा गर्नुभयो । गुर्जाबासीले गाउँलाई दुर्गम क्षेत्र घोषणा गर्न निरन्तर रुपमा माग गर्दै आएका छन् ।

अन्य फोटो ग्यालरीमा जानुहोस्