म्याग्दीमा टाइफाइडविरुद्धको खोप अभियान सुरु

  • २५ चैत्र २०७८, शुक्रबार
  • 929 पटक पढिएको

म्याग्दी, २५ चैत । नेपालमा पहिलो पटक सञ्चालन हुन लागेको टाइफाइड रोगविरुद्धको खोप अभियान म्याग्दीमा शुक्रबारदेखि सुरु भएको छ । म्याग्दीमा चैत २५ गते देखि बैशाख २ गतेसम्म संचालन हुने अभियान सुरु भएको हो ।


बेनी सामुदायिक विद्यालयमा भएको टाईफाईडविरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै खोप अभियान सुरु गर्नुभएको हो । जिल्लामा १५ महिनादेखि १५ वर्षमुनिका २८ हजार ७१८ जना बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी गराए ।


जिसस प्रमुख केसीले खोप अभियानमा सहभागि अभियान कर्ताहरुले कुनै बहाना नबनाई प्रभावकारी रुपमा टाईफाइडबिरुद्धको खोप अभियान सम्पन्न गर्न आग्रह गर्नुभयो । त्यस्तै प्रजिअ रानाले नेपाल टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालन गर्ने दक्षिण एशियामै पहिलो राष्ट्र भएको बताउनुभयो ।

विद्यालय स्तरसम्मै खोपकेन्द्र सञ्चालन गरेर लक्षित उमेरका विद्यालयभित्र र बाहिर रहेका समेत बालबालिकाहरुलाई खोप लगाउनका लागि अभियान सञ्चालन भएको बताउनुभयो । खोप अभियानका लागि २३० खोप केन्द्र सञ्चालन हुनेछन् । १२५ जना लक्षित समुदायको बालबालिका रहेको विद्यालयमै खोप केन्द्र सञ्चालन गरिने र कम भएका बालबालिकाहरुलाई नजिकको पायक पर्ने केन्द्रमा ल्याएर खोप लगाईने स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियानका लागि २३० जना स्वास्थ्यकर्मी, ४६० जना स्वयंसेवक र ५७ जना सुपरिवेक्षक समेत परिचालन गरिने कार्यालय प्रमुख लम्सालले बताए ।

हरेक खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी, एक जना महिला स्वास्थ्य स्वयंसेवीका र एक जना महिला शिक्षक परिचालित भएका छन् । उक्त खोपको अभियानलगत्तै १५ महिनाका हरेक बालबालिकाले नियमित खोप कार्यक्रममार्फत एक मात्रा खोप लगाउन पाउनेछन् ।

अरू खोपमा झैँ टाइफाइडको खोप लगाउँदा सामान्य असर देखा परे पनि आफैँ ठीक भएर जाने स्वास्थ्यकर्मीको भनाइ छ । टाइफाइडमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, जिब्रोमा सेतो लेत लाग्नेलगायत लक्षण देखिने गरेको छ । रोगको सङ्क्रमण शरीरमा फैलँदै गएमा सानो आन्द्रामा घाउ हुने, प्वाल पर्ने र मस्तिष्कसम्बन्धी जटिल समस्या समेत देखिने जनाइएको छ ।