म्याग्दीमा लालीगुराँसले फस्टाउँदै पर्यापर्यटन

  • १४ चैत्र २०७८, सोमबार
  • 823 पटक पढिएको

म्याग्दी १४ चैत । म्याग्दीका वनजङ्गल यतिबेला लालीगुराँस फुलेर राताम्यै भएका छन् । वनैभरि फुलेको लालीगुराँससँग मनै अघाउञ्जेल रमाएर हेर्न सहरबजारबाट युवायुवतीको भीड लेकका जङ्गलतिर उक्लिएको छ । म्याग्दीको सदरमुकाम बेनीबजारबाट भकिम्लीको जङ्गलमा साथीसँग घुम्न आउनुभएकी पुनम रोका लालीगुँरासलाई छेउमा राखेर तस्बिर लिन व्यस्त हुनुहुन्थ्यो । उहाँसँगै आएका साथी पनि लालीगुँरासमा रमाउँदै फोटो खिच्न व्यस्त देखिन्थे ।

छर्लङ्ग खुलेको छ आकाश । मुसुक्क मुस्कुराए जस्तै देखिएका छन् हिमाल । लालीगुराँस फुलेर राताम्यै भएका छन् पहाड । प्रकृतिमा बैंस चढेको छ र बैंसालु प्रकृतिसँग रमाउँदै आनन्द मनाउन बाक्लै युवायुवती पहाडतिर उक्लिएका छन् । लालीगुराँसका कारण म्याग्दीको पर्यापर्यटन फस्टाएको छ । फागुनदेखि जेठ महिनासम्म वनजङ्गलमा लालीगुराँस फुल्ने गर्दछ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय क्षेत्र पुनहिल, घोरेपानी, राम्चे, घारलगायत क्षेत्रको अधिकांश वनपाखामा गुराँस फुलेर राताम्य भएको छ । यसैगरी रघुगङ्गा, मङ्गला, मालिका र धवलागिरि गाउँपालिका तथा बेनी नगरपालिकाको पर्यटकीयस्थल केभहिल, भकिम्लीलगायत क्षेत्रमा पनि गुराँस फुलेको छ ।

लामो समय कोरोना भाइरस र लकडाउनका कारण घरभित्रै बस्न बाध्य नेपाली पर्यटकीय मौसम सुरु भएपछि बिदा मनाउन तथा साथीभाइसँग पर्यटकीय क्षेत्रको भ्रमणमा निस्किएका छन् । उत्तरी अन्नपूर्ण गाउँपालिका–६ घारस्थित समुद्री सतहदेखि दुई हजार ८७४ मिटरको उचाइमा अवस्थित घोडेपानी तथा तीन हजार २१० मिटरमा रहेको पुनहिल आसपासको वनजङ्गल क्षेत्रमा विभिन्न प्रजातिका गुराँस फुलेको स्थानीयवासीले बताएका छन् ।  नेपालको वनजङ्गलमा ३१ प्रजातिका लालीगुराँस पाइने पहिचान भए पनि घोरेपानी क्षेत्रमा मात्रै विभिन्न ८ प्रजातिका गुराँस फुल्ने गरेको अनुमान छ । हातैभरि गुराँसका फूल लिएका युवायुवती जङ्गलमा बाक्ले देखिन थालेका बेनी नगरपालिका– ३ का जगबहादुर रोकाले बताउनुभयो । “जङ्गलैभरि लालीगुराँस र गुराँस हेर्न आएका युवायुवती मात्रै देखिन्छन् । कोही फोटो खिचिरहेका त कोही टिकटक बनाइरहेका हुन्छन्”, रोकाले भन्नुभयो । लामो पात, झ्याम्म रुख राता फूलहरुले जङ्गललाई सिँगारेको छ ।

पर्यटनका कारण सुनसान बनेका यहाँका पर्यटकीयस्थलमा यतिबेला चहलपहल बढेको र नजिकैबाट प्रकृतिलाई नियाल्न र बुझने अवसर पनि पाएको स्थानीय कृष्ण गौतमले बताउनुभयो । म्याग्दीका ग्रामीण क्षेत्रका जङ्गलमा यस वर्ष विगतका वर्षभन्दा राम्रोसँग लालीगुराँस फुलेको छ । लालीगुराँससँगै रमाउने र तस्बिर खिचाउनेमा युवा पुस्तामात्रै होइन, जनप्रतिनिधिदेखि लिएर राजनीतिक दलका नेता, कर्मचारी, विद्यार्थी पनि रहेका छन् । सामान्यतया चैत–वैशाखमा फुल्ने लालीगुराँस यसवर्ष साविक भन्दा पहिले नै फुलेको छ । फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस यसवर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेको हो ।