म्याग्दीमा ८५ हजार जना मतदाता

  • १४ चैत्र २०७८, सोमबार
  • 791 पटक पढिएको

म्याग्दी, १४ चैत । आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दमिा ८५ हजार ३७५ जना मतदाता कायम भएका छन् । निर्वाचन आयोगले आईतबार सार्वजनिक गरेको विवरण अनुसार म्याग्दीमा आगामी चुनावमा ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एक जना तेस्रो लिङ्गी मतदाता कायम भएको छ ।


यसैगरी ७४ मतदातास्थल र ११४ मतदान केन्द्र कायम भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले अन्नपुर्ण गाउँपालिका– ८ नागीको हिमाञ्चल मावि, बेनी नगरपालिका–५ चिप्लेटी डिम्व आधारभूत र मंगला गाउँपालिका– १ भरजुलोको बालोदय आधारभूत विद्यालयमा मतदानस्थल थपिएको बताए ।

पालिका अन्तरगत १७ मतदानस्थल र २८ वटा मतदान केन्द्र रहेको बेनी नगरपालिकामा २४ हजार ७११ मतदाता छन् । १२ वटा मतदानस्थल र १६ वटा मतदान केन्द रहेको धवलागिरी गाउँपालिकामा १० हजार ९४० जना मतदाता छन् । आठ वटा मतदानस्थल र १७ वटा केन्द्र रहेको मंगलामा १३ हजार ४१६ मतदाता छन् । १४ वटा मतदानस्थल र १९ मतदान केन्द्र भएको रघुगंगा गाउँपालिकामा १३ हजार ६४७ जना मतदाता छन् । ९ वटा मतदानस्थलमा १७ वटा केन्द्र तोकिएको मालिकामा १३ हजार २०१ जना छन् । भने, १४ मतदानस्थलमा १७ वटा केन्द्र तोकिएको अन्नपुर्ण गाउँपालिकामा १२ हजार २६ जना मतदाता कायम छन् ।

चैत २९ गते न्युक्ति दिने गरी म्याग्दीका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । म्याग्दीका निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेका अनुसार, बेनी नगरपालिकामा जिल्ला अदालत म्याग्दीका जिल्ला न्याधिश तेजनारायण पौडेललाई मुख्य निर्वाचन अधिकृत, अन्नपुर्ण गाउँपालिकामा जिसस म्याग्दीकी जिल्ला समन्वय अधिकारी जानुका सुवेदी, मंगला गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका न्यायाधिबक्ता धर्मराज पौडेल, मालिकामा आन्तरिक राजश्व विभाग काठमाण्डौका उपन्यायाधिबक्ता गोविन्द उपाध्याय, धवलागिरी गाउँपालिकामा बैदेशिक रोजगार कार्यालय काठमाण्डौका निर्देशक हरिराम नागिला र रघुगंगा गाउँपालिकामा जिल्ला अदालत म्याग्दीका स्रेस्तेदार तेजप्रसाद पौडेललाई तोकिएको जानकारी दिए ।

आगामी स्थानीय तहको निर्वाचनमा म्याग्दीमा २० राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रिय मान्यता प्राप्त ६ वटा र मान्यता प्राप्त नभएका १४ वटा दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् । स्थानीय तह निर्वाचनमा म्याग्दीमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा – एकीकृत समाजबादी, राप्रपा र स्वतन्त्र उम्मेद्वारविच प्रतिस्पर्धा हुने देखिएको छ । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ४५ वटा वडा छन् । यस अघि विस २०७४ को चुनावमा म्याग्दीमा ७१ म्तदानस्थल र ११० वटा मतदान केन्द्र थिए । २०७४ को स्थानीय तह निर्वाचनमा म्याग्दीमा ७१ हजार ४६३ मतदाता थिए ।