अखिल नेपाल महिला संघको अध्यक्षमा रोका निर्वाचित

  • १२ चैत्र २०७८, शनिबार
  • 515 पटक पढिएको

म्याग्दी १२ चैत। नेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ म्याग्दीको अध्यक्षमा यसोदा रोका निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न अनेमसंघ म्याग्दीको आठौँ जिल्ला सम्मेलनबाट रोकाको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत रुपमा चयन भएको हो ।           रोका मंगला गाउँपालिका ३ सातबिसे निबासी हुनुहुन्छ ।
अनेमसंघको बिद्यान अनुसार ४५ सदस्यीय जिल्ला कमिटि गठन गरि पहिलो बैठकबाट अध्यक्ष सहितको पदाधिकारी चयन गरिएको हो । जिल्लाका छ वटा पालिकामा निर्वाचित भएका पालिका कमिटि अध्यक्षहरु जिल्ला कमिटि सदस्यमा स्वत मनोनित हुने व्यवस्था रहेको छ ।
कमिटिको उपाध्यक्षमा हेमकुमारी गर्बुजा, पशुपति शाही, सचिवमा बिष्णु गुरुङ, सहसचिवमा देवकुमारी पुन र कोषाध्यक्षमा लक्ष्मी भण्डारी निर्वाचित हुनुभएको नेकपा एमाले म्याग्दीका सचिव सुरज केसीले जानकारी दिनुभयो ।
सदस्यहरुमा भुलमाया तिलिजा, सुनिता केसी, सुस्मिता सापकोटा, जानुका अधिकारी, भावना पौडेल, शोभा परियार, तेजिमाया बिश्वकर्मा, आशा गुरुङ, मनदेवि परियार, रत्नकुमारी कार्की, सरिता पुन, हरिमाया घर्ती लगायत रहनुभएको छ ।
अध्यक्ष रोकाले महिलाको हक, अधिकार तथा सुरक्षाको पक्षमा अनेमसंघले निरन्तर आवाज उठाउने प्रतिवद्धता जनाउनुभएको छ । साथै उहाँले सक्षम महिला नेतृत्व उत्पादनका लागि सामाजिक तथा राजनैतिक गतिबिधिमा सबै महिलालाई सक्रियताका साथ सहभागी गराउने गरि कार्यक्रम तथा योजना तय गर्ने बताउनुभएको छ ।
शुक्रबारदेखि बेनीमा सुरु भएको जिल्ला सम्मेलन शनिबार सहमतिमा नयाँ नेतृत्व चयन गर्दै सकिएको हो । जिल्ला कमिटिको पहिलो बैठकले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बिभिन्न कार्यक्रमहरु संचालन गर्ने निर्यण गरेको छ ।
सम्मेलनमा जिल्लाका ६ वटा पालिकामा गठन भएका पालिका, वडा र टोल कमिटिबाट १२० जना प्रतिनिधि छनौट भएका थिए । निर्वाचनका लागि अध्यक्ष मण्डलका संयोजकमा नेकपा एमालेका केन्द्रिय सदस्य नरदेवी पुन, र सदस्यहरुमा थमसरा पुन, खरमाया बिटालु, देवेन्द्र बहादुर कटुवाल रहनुभएको थियो ।