बेनी अस्पताल व्यवस्थापन समिति र मोनाबिच छलफल

  • १२ चैत्र २०७८, शनिबार
  • 933 पटक पढिएको

म्याग्दी १२ चैत । बेनी अस्पताल व्यवस्थापन समिति र म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिका पदाधीकारीबीच शुक्रबार भर्चुअल माध्यमबाट अन्तरक्रिया भएको छ । मोनाद्धारा अस्पताल व्यवस्थापन समितिका नवनियुक्त पदाधीकारीलाई बधाई तथा मोना र अस्पताल ब्यवस्थापन समितिको सहकार्यमा गर्न सकिने कामका बारेमा छलफल गरिएको थियो ।

छलफलका क्रममा मोनाका प्रतिनिधीहरुले मोनाले विगतमा उपलब्ध गराएका उपकरण र भवनको प्रभावकारी प्रयोग नभएकोमा अस्पताल व्यवस्थापन समितिको ध्यानकर्षण गर्नुभएको थियो । उक्त छलफलमा बिगतमा अस्पतालको भौतिक तथा गुणस्तर सुधारमा प्रवासी म्याग्देलीले गरेका सहयोगबारे छलफल हुनुकोसाथै दुवै पक्षले अस्पतालको सेवामा सुधारका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभएको मोनाका प्रवत्ता हिक्मत श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा मोनाका अध्यक्ष अमर छन्त्यालले अस्पतालमा प्रवासी म्याग्देलीहरुको पहलमा भित्रिएको सहयोगको अभिलेखिकरण र दस्तावेजीकरण गर्न सुझाव दिनुको साथै अस्पतालको गुणस्तर सुधारमा मोनाले सघाउने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले अस्पतालको अवस्था र सेवा सुविधा तथा चुनौति र आवश्यकताका विषयमा जानकारी गराउनु भएको थियो ।

उक्त छलफलमा अस्पताल व्यवस्थापन समितिद्धारा अध्ययन गरेर मात्र उपकरण तथा योजनाको माग गर्ने र स्थायी दस्तवेज राख्नुको साथै अस्पतालको सेवा र पूर्वाधारलाई स्तरीय बनाउन सबैलाई अपिल गर्ने बिषयमा समेत छलफल भएको थियो । कार्यक्रममा मोनाका उपाध्यक्ष इन्जिनियर नन्द गर्वुजा,अस्पताल व्यवस्थापन समितिका सदस्य संगीता श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो भने मोनाका महासचिब हरि राम्जालीले सहजीकरण गर्नुभएको थियो ।