पिप्लेमा आधारभूत प्रयोगशाला (ल्याव ) सेवा सुरु

  • १० चैत्र २०७८, बिहीबार
  • 941 पटक पढिएको

म्याग्दी, १० चैत । रघुगंगा गाउँपालिकाले वडानम्वर ३ पिप्लेमा रहेको पिप्ले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला ९ल्याव० सेवा सुरु गरेको छ । गाउँपालिकाले बेग, भगवती, पिप्ले दग्नाम र चिमखोला लगायतका जनतालाई लक्षित गरेर पिप्लेमा ल्याव सेवा संचालन गरिएको हो ।

अन्तराष्ट्रिय क्षयरोग दिवसको अवसरमा पिप्ले सुरु भएको ल्याव सेवाको उद्घाटन गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गर्नुभएको थियो । पिप्लेमा सुरु गरिएको ल्याव सेवाबाट रगत, पिसाव, खकार कोरोना एन्टिजेन, एसआईभी, हेपाटाइटिस लगायत सबै चेकजाच हुने डाक्टर सन्तोषप्रसाद बोहराले बताउनुभयो । थाईराईडबाहेक रगत र पिसावबाट थाहा पाउने सबै प्रकार रोगहरु प्हिचान गर्न सकिने बताउनुभयो । ल्याव सेवा प्रभावकारी रुपमा संचालन गर्न जनशक्ति पनि राखिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्षले गाउँपालिकाले आठ वटा वडा सबैमा १६ शाखाहरुमार्फत आधारभूत स्वास्थ्य उपचार दिएको बताउनुभयो । पिप्लेसंगै पाखापानीमा ल्याव सेवा यसै बर्षमा सुचारु गर्ने गरी सामान र जनशक्ति ब्यवस्थापन गरिसकेको समेत जानकारी दिनुभयो । पिप्लेमा अस्पताल बनाउनका लागि केन्द्र र प्रदेश सरकारसंग माग गर्ने तयारी भएको बताउनुभयो । उहाँले ल्यावसेवा संगसंगै पिप्लेमा एक्सरे सेवा संचालन गर्नका लागि भवन निर्माण भईरहेको भन्नुभयो ।

गाउँपालिका उपाध्यक्ष कमला तिलिजाले स्वास्थ्य, शिक्षा खानेपानी लगायतका जनताका अतिआवश्यक सेवाहरुलाई मध्यनजर गरेर सबै वडामा योजनाबद्ध सेवाहरु विस्तार भईरहेको बताउनुभयो ।

त्यस्तै प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले गाउँपालिकाको आर्थिक क्षमताअनुसार गाउँपालिकाभित्र स्वास्थ्य सेवाहरु थप गरीरहेको बताउनुभयो । गाउँपालिकाभित्र थप भएको सेवाहरुलाई जनतामैत्री बनाउन जनप्रतिनिधि, कर्मचारी, डाक्टर, नर्स, स्वास्थ्यकर्मी, लगायत सामाजिक ब्यक्तित्वले प्रचारप्रसार र एकअर्कालाई जानकारी गराएर ल्याव सेवा प्रभावकारी रुपमा संचालन गराउनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा रघुगंगा मावि पिप्लेका प्रअ रमेशसिङ ठकुरीले गाउँमा थपिएको स्वास्थ्य सेवाहरु आर्थिक रुपमा कमजोर भएका परिवारलाई राहत पुग्ने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य पिप्ले स्वास्थ्य चौकीका प्रमुख शिवप्रसाद पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा डाक्टर बोहरा, गाउँपालिका स्वास्थ्य शाखा संयोजक टिका शाही, नर्स, स्वास्थ्य स्वयमसेवीका लगायतको उपस्थित रहेको थियो ।