पहिरोले पात्लेखेतमा उठीबासको त्रास

  • १० चैत्र २०७८, बिहीबार
  • कमल खत्री
  • 912 पटक पढिएको

कमल खत्री
बेनी, १० चैत । गाउँको पुछारबाट पहिरो जान थालेपछि बेनी नगरपालिका–१० पात्लेखेत गाउँका स्थानीय उठीबासको त्रासमा छन् । बर्षौदेखि जान थालेको बान्द्रेखाल्टी पहिरो र दुई बर्षअघि देखि जान थालेको पाखेपहिरोले सिंगो गाउँ नै पहिरोको जोखिमा परेको छ । धाँजा फाटेर पहिरो बस्तीतर्फ आउन थालेपछि पात्लेखेतको अधिकाँश बस्ती पहिरोको जोखिममा परेका छन् । पहिरोले ७ सय रोपनी बढी खेतीयोग्य जमिन बगाएको र ८ हेक्टर बढी बन क्षेत्र सखाप पारेको स्थानीय केदार सुवेदीले बताउनुभयो । ‘‘रघुगंगा सामुदायिक बन ७५ प्रतिशत क्षेत्र क्षतविक्षत भएको छ, खेतवारी पहिरोले सखाप पार्दै बस्ती नजिक आइसकेको छ, तर पहिरो नियन्त्रणको प्रभाबकारी कदम चालिएको छैन’’– सुवेदीले भन्नुभयो ।


उहाँका अनुसार, पहिरोले गत बर्ष चार घर पूर्ण रुपमा विस्थापित भैसकको छन् । यामबहादुर राम्जाली, हरि गर्वुजा, खम्मी गर्वुजा, इन्द्रबहादुर रावत संगे सुकुम्बासीको रुपमा बसोबास गर्दै आउनुभएका गोरे रोकाको घर पहिरोले भत्काएपछि उनीहरुलाई पहिरोले विस्थापित बनाएको छ । बान्द्रेखाल्टीसंग नै जोडिएको पाखाखेत पहिरोले स्थानीय मुरारी हमालको घर भत्काएपछि उनीहरु समेत अन्यत्रै विस्थापित भएर सरेका छन् । बान्द्रेखाल्टीमा २०१८ सालमा नै पहिरो गएको स्थानीयबासी बताउँछन् । पछि २०५८ सालदेखि भने यहाँ बर्षैपिच्छे पहिरो जान थाल्यो ।

तर त्यसको आकार अहिलेको जस्तो उठीबासै लगाउने अवस्थाको थिएन । २०७२ सालमा गएको भूकम्पको कारण पहिरो नियन्त्रण बाहिर गएको स्थानीयबासी सुवेदीले बताउनुभयो । भूकम्पपछि जंगलको बिचबाट पहिरो तल रघुगंगा नदिनको किनार र माथि बस्तीसम्म नै पुगेको छ । भूकम्पपछि पात्लेखेत भूमिगत पहिरोको थप चपेटामा परेको छ । अहिले यहाँका २५ जना बढी स्थानीयको सयौँ रोपनी खेतीयोग्य समिन पुरै पहिरोले बगाएको छ । धान, गहुँ, मकै लगायतका खाद्यबाली हुने खेतवारीका फाँट पहिरोले खण्डहरमा परिणत गरेपछि स्थानीयबासी चिन्तित बनेका छन् ।

खेतवारी हुँदै बस्तीसम्म पहिरो आइपुगेर दर्जनौँ घरहरुलाई चिराचिरा पारेको छ । घर, आगन समेत चर्किएर जोखिम बढेपनि स्थानीयबासी जोखिम मोलेरै बस्न बाध्य भएका छन् । बान्द्रेखाल्टी पहिरोबाट ३५ र पाखेपहिरोबाट २८ घरधुरी बढी जोखिममा परेका छन् । भएथोक, ओखारी, पाईजागाउँ लगायतका टोलबस्तीहरु पहिरोबाट अत्यन्तै जोखिममा छन् । पहिरो रोकथाम र नियन्त्रणको लागि अध्ययन बाहेक कुनै काम हुन नसकेकाले आगामी बर्षातमा सिंगो गाउँकै उठीबासको त्रास बढेको बेनी नगरपालिका–१० का कार्यबाहक वडा अध्यक्ष लोक बहादुर पुनले बताउनुभयो ।

‘‘घरहरु चर्किएका छन, खेतवारी सबै पहिरोले बगाउने अवस्था छ, पहिरो नियन्त्रण सजिलो देखिएको छैन, हिउँदयाममा कुनैपनि काम गर्न सकिएको छैन, माथिल्लो निकायबाट अध्ययन भएपनि संरक्षणको र नियन्त्रणको काम सुरु भएका छैनन’’– का.बा. वडा अध्यक्ष पुनले भन्नुभयो । पहिरो नियन्त्रणतर्फ नगए बस्तीलाई स्थानान्तरण गर्नुपर्ने अनिवार्य बनेको अध्यक्ष पुनले बताउनुभयो । भौतिक संगै मानविय क्षतिको जोखिम बढेकाले पहिरो नियन्त्रणको लागि नगरपालिका मार्फत आबश्यक पहल गरिएको भएपनि अहिलेसम्म कुनै ठोस योजना आएको छैन् ।

पहिरोले पाईजागाउँदेखि खोलापारी जाने गोरेटो बाटो नै बगाएपछि नगरपालिका मार्फत विनियोजन भएको रु लाख बजेटबाट ग्याविन लगाएर अस्थायी रुपमा बाटो बनाइएको छ । त्यो बाहेक पहिरो नियन्त्रणको लागि यो बर्ष कुनैपनि निकायबाट बजेट विनियोजन र योजना सञ्चालन भएको छैन् । पहिरो रोकथाम र नियन्त्रणको लागि सवैतर्फबाट पहल भएपनि के कस्तो तवरले रोकथामका काम गर्ने भन्नेमा अझै ठोस उपलब्धी नभएको स्थानीयबासी समेत रहनुभएका नेपाली काँग्रेस म्याग्दीका सचिब भरतबहादुर रकालले बताउनुभयो ।

बृहत जलाधार व्यवस्थापन केन्द्र पोखराबाट भूगर्भविद् सहितको टोलीबाट पहिरोको स्थलगत अध्ययन सहित डिपिआर नै तयार गर्ने काम भैरहेको भएपनि अहिलेसम्म के कस्तो योजना सञ्चालन गरि पहिरो नियन्त्रणको काम गर्ने भन्ने निक्यौल नभएको रकालले बताउनुभयो । ‘‘ यहाँको अवस्था करोडौँ बजेट विनियोजन गरि भूगर्भविद्को सुझाबका आधारमा पहिरो नियन्त्रणको लागि प्रयास गर्नुपर्ने देखिन्छ, त्यसको लागि हिउँदयाममा नै काम हुनुपर्ने हो, अहिलेसम्म कुनैपनि निकायबाट योजना सञ्चालनको लागि सम्बोधन नहुनुले पहिरोको जोखिम न्यूनिकरण हुने अवस्था देखिएको छैन, यसतर्फ सम्बन्धित सबैको ध्यान जान जरुरी छ’’–उहाँले भन्नुभयो ।

पहिरो स्थलको निरिक्षणमा पुग्नुभएका बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले भूगर्भविद्हरुको प्रतिवेदनका आधारमा बस्ती संरक्षणको लागि माथिल्लो निकायमा पहल भैरहेको जानकारी दिनुभयो । ‘‘थोरै बजेटबाट पहिरो नियन्त्रण सम्भव देखिदैन, माथिल्लो निकायबाटै पहिरो नियन्त्रण आयोजनाहरु सञ्चालन गर्नुपर्ने देखिन्छ, त्यसमा स्थानीय तहले आफ्नोतर्फ पहल गरिरहेको छ’’–उहाँले भन्नुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l