म्याग्दीका तीन पालिकाको प्रमुख प्रशासकीय अधिकृत एकै गाउँका

  • ९ चैत्र २०७८, बुधबार
  • कमल खत्री
  • 1191 पटक पढिएको

बेनी, ९ चैत । उच्च शिक्षाका लागि विदेश जाने तथा बैदेशिक रोजगारप्रतिको आकर्षणले निजामति सेवामा म्याग्देलीहरुको पहुँच बढ्न सकेको छैन् । तर पछिल्लो समय स्वदेशमै अध्ययन गरि निजामति सेवाबाट सरकारी जागिरतर्फ प्रवेश गर्नेहरुको आकर्षण बढ्दै गएको छ । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा तीन स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत म्याग्देली नै बनेका छन् । त्यो पनि एकै ठाउँका ।


मंगला, रघुगंगा र धवलागिरि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बेनी नगरपालिका–६ अर्थुङ्गेका क्रमश ः मनोहर ढुङ्गाना, अमृत सुवेदी र पूर्णबहादुर खत्री हुनुहुन्छ । मंगलाका प्रमुख प्रशासकीय अधिकृत ढुङ्गाना २०७३, रघुगंगाका प्रमुख प्रशासकीय अधिकृत सुवेदी २०७४ र धवलागिरिका प्रमुख प्रशासकीय अधिकृत खत्री २०७८ मा निजामती सेवा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)पदमा खुल्ला प्रतिस्पर्धाबाट सिफारिस हुनुभएको थियो ।

रघुगंगाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले २०६९ सालमा खरिदारबाट निजामति सेवामा प्रवेश गर्नुभएको थियो । क्रमश सुब्बा हुँदै अधिकृत पदमा पुग्नुभएको हो । मंगलाका प्रमुख प्रशासकीय अधिकृत ढुङ्गानाले २०६८ सालमा न्याय सेवातर्फ खरिदारबाट निजामति सेवामा प्रवेश गर्नुभएको थियो । उहाँपनि सुब्बा हुँदै अधिकृतमा पुग्नुभएको हो । धवलागिरिका खत्री २०७२ सालमा नायब सुब्बा पदबाट निजामति सेवामा प्रवेश गर्नुभएको थियो ।

तीनै जना अधिकृतले अर्थुङ्गेकै जामुनाखर्क माविबाट विद्यालय तहको पठनपाठन गर्नुभएको थियो । विद्यालयका पूर्व विद्यार्थीहरु गृहजिल्लाकै तीन पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पुग्नु गौरवको बिषय भएको जामुनाखर्क माविका प्रधानध्यापक सोमनाथ ढुङ्गानाले बताउनुभयो । ‘‘विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु राज्यको उच्च पदस्थ स्थानमा पुग्नेक्रम बढेको छ, पूर्वविद्यार्थिहरु निजामति, शिक्षक सेवा र बैँकिङ्ग क्षेत्रमा ठुलै संख्यामा आबद्ध छन, विद्यालयको लागि गौरव र अन्य विद्यार्थीहरुको लागि प्रेरणाको रुपमा लिएका छाँै’’–प्रअ ढुङ्गानाले भन्नुभयो ।

यस विद्यालयले विभिन्न समयमा निजामति, शिक्षक सेवा लगायतका सरकारी सेवा प्रवेशमा विद्यार्थीहरुको उत्सुकता बढाउन अभिमुखीकरण लगायतका कामहरु गर्दै आएको छ । सोही विद्यालयमै अध्ययन गर्नुभएका नगेन्द्र सुवेदी (२०७५) थासाङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ भने शान्ति पौडेल (२०७३) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा शाखा अधिकृत, यसोदा सुवेदी (२०७४) पर्वतको फलेवास नगरपालिकाको लेखा अधिकृत र रामप्रसाद पौडेल(२०७५) गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा शाखा अधिकृतमा कार्यरत हुनुहुन्छ ।

त्यसैगरि जामुनाखर्क माविमै अध्ययन गर्नुभएका बिजय शर्मा  उर्जा जलस्रोत तथा सिंचाइ विकास मन्त्रालयमा इन्जिनियर,अमित ढुंगाना वन मन्त्रालय अन्तरगत शाखा अधिकृत, सोविता ढुंगाना कानुन अधिकृत, कुमार रिजाल कानुन अधिकृत, सिद्धार्थ ढुङ्गाना स्वास्थ्य मन्त्रालय अन्तरगत तथ्यांक अधिकृत, इश्वर ढुङ्गाना बैँकतर्फको सेवामा आईटी अफिसरमा कार्यरत हुनुहुन्छ ।त्यसैगरि प्रतिक ढुंगाना नापि अधिकृतमा कार्यरत हुनुहुन्छ भने अधिकृत छैटौँ तह अन्तरगत प्रकाश सुवेदी बेनी नगरपालिकाको योजना अधिकृत र कृष्ण सुवेदी पोखरा महानगरपालिकामा शाखा अधिकृतमा कार्यरत हुनुहुन्छ ।

नवराज ढुङ्गाना र बिजय पौडेल बाणिज्य बैँकको सातौँ अधिकृत हुनुहुन्छ भने यस विद्यालयमा अध्ययन गरेका दर्जन बढी व्यक्तिहरु सरकारी सेवाको विभिन्न तह र दुई दर्जन बढी विभिन्न बैँक तथा वित्तिय संस्थाको शाखा प्रवन्धकका रुपमा कार्यरत हुनुहुन्छ । छिमेकी जिल्ला बागलुङ र पर्वतको तुलनामा निजामति क्षेत्रमा म्याग्दीको कमजोर् उपस्थिती भएपछि पछिल्लो समय जिल्लाका स्थानीय तहले समेत लोकसेवा आयोगको तयारी कक्षाहरु सञ्चालन गर्न थालेका छन् । यसले केहि हदसम्म लोकसेवाप्रति आकर्षण बढेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l