म्याग्दीमा म्यादी प्रहरीको लागि ८४७ जनाको आवेदन

  • ८ चैत्र २०७८, मंगलवार
  • 755 पटक पढिएको

म्याग्दी ८ चैत । आगामी स्थानीय तह निर्वाचन २०७९ को म्याग्दीमा भर्ना खुलेको म्यादी प्रहरीमा  मंगलबारसम्म ८४७ जनाले आवेदन दिएका छन् । म्यादी प्रहरीमा भर्ना हुनको लागि चैत ६ गतेदेखि खुलेको आवेदन संकलनमा तीनदिनसम्ममा सो संख्याले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

जिल्लामा कुल ६५३ जना म्यादी प्रहरी भर्ना हुने भएपनि तीन दिनमा १७७ जना महिला र ६७० जना पुरुषले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले जानकारी दिनुभयो । आवेदन दिएकाहरुमध्येबाट छनौट भएकाहरुलाई आबश्यक तालिम र प्रशिक्षण दिएर निर्वाचन सुरक्षा प्रयोजनका लागि खटाईने जनाइएको छ ।

दरखास्तका लागि नेपाली नागरिक भएका, नैतिक पतन देखिने फौजदारी अभियोग नलागेका, कसुरदार ठहर नभएका, शारीरिक तथा मानसिक रुपले तन्दरुस्त, साधारण लेखपढ गर्न जान्ने तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को अनुसूची ३ मा उल्लेख भए बमोजिमको हुनुपर्ने उल्लेख छ ।

म्यादी प्रहरीको कार्यावधि ४० दिनको हुने छ । उनीहरुलाई जम्मा तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्नबापतको एकमुष्ट सात हजार २०० र अन्य पोसाक तथा सामान खरिद गर्नेगरी प्रतिव्यक्ति ६ हजार रुपैयाँ उपलब्ध गराइने छ ।