म्याग्दीमा म्यादी प्रहरीको लागि आवेदन दिनेको भिड

  • ७ चैत्र २०७८, सोमबार
  • 873 पटक पढिएको

म्याग्दी ७ चैत । आगामी स्थानीय तह निर्वाचन २०७९ को म्याग्दीमा भर्ना हुने म्यादी प्रहरीमा आवेदन दिनेको भिड लागेको छ । चैत ६ गतेदेखि सुरु भएको आवेदन संकलनका क्रममा दुई दिनमा नै साढे ५ सय बढीले आवेदन दिएका छन् । पहिलो र दोस्रो दिनमा ५५१ जनाले म्यादी प्रहरीमा भर्ना हुनको लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लामा कुल ६५३ जना म्यादी प्रहरी भर्ना हुने भएपनि दुई दिनमा नै भर्ना हुनका लागि आवेदन दिएको संख्याले अन्तीम समयसिमाभित्र आवेदन दिनेको संख्या बढ्ने देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले जानकारी दिनुभयो । आवेदन दिएकाहरुमध्येबाट छनौट भएकाहरुलाई आबश्यक तालिम र प्रशिक्षण दिएर निर्वाचन सुरक्षा प्रयोजनका लागि खटाईने जनाइएको छ ।

उहाँका अनुसार, चैत ११ गतेसम्म म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले आवेदन दिन सक्नेछन् । दरखास्तका लागि नेपाली नागरिक भएका, नैतिक पतन देखिने फौजदारी अभियोग नलागेका, कसुरदार ठहर नभएका, शारीरिक तथा मानसिक रुपले तन्दरुस्त, साधारण लेखपढ गर्न जान्ने तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को अनुसूची ३ मा उल्लेख भए बमोजिमको हुनुपर्ने उल्लेख छ । म्यादी प्रहरीको कार्यावधि ४० दिनको हुने छ । उनीहरुलाई जम्मा तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्नबापतको एकमुष्ट सात हजार २०० र अन्य पोसाक तथा सामान खरिद गर्नेगरी प्रतिव्यक्ति ६ हजार रुपैयाँ उपलब्ध गराइने छ ।