आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको अर्धबार्षिक समिक्षा

  • ६ चैत्र २०७८, आईतवार
  • धिरन खत्री
  • 1208 पटक पढिएको

 

म्याग्दी, ६ चैत । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीले आयुर्वेद सेवा कार्यक्रम सम्वन्धी अर्धबार्षिक समन्वयात्मक समिक्षा गोष्ठी गरेको छ । आईतबार केन्द्रले आयोजना गरेको समिक्षा गोष्ठीमा अर्धबार्षिकमा गरेको गतिविधि सार्वजनिक र छलफल गरिएको थियो ।


आयुर्वेद स्वास्थ्य सेवा संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष जीवनकुमार विश्वकर्माको अध्यक्षतामा भएको गोष्ठीमा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले आयुर्वेद सेवाहरु जनताहरुमाझँ भरपर्दो र समयसापेक्ष बनाउन आग्रह गर्नुभयो । प्रजिअ रानाले केन्द्रका आयुर्वेद सेवाहरुलाई पालिकासंग समन्वय गरेर प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । गोष्ठीमा अध्यक्ष विश्वकर्माले जिल्लाका सबै पालिकामा आयुर्वेद सेवा विस्तारमा पहल भईरहेको जानकारी दिनुभयो । निर्मित प्रमुख दामोदर शर्माले कोभिडपछि आयुर्वेद औषधी प्रयोग गर्ने संख्या जिल्लामा बढेको बताउनुभयो । ‘केन्द्रबाट स्वास्थ्य समस्या भएका नागरिकहरुलाई आयुर्वेद पद्धतीद्वारा उपचार तथा परामर्श सेवा, बच्चाका आमाहरुलाई स्तन्यबर्धक औषधी वितरण, जेष्ठ नागरिकलाई स्वास्थ्य प्रवद्र्धन सेवा, निशुल्क औषधी वितरण, उपचारत्मक, पंचकर्म, प्रयोगशाला र आयुर्वेद जीवनशैली सम्वन्धी परार्मश सेवाहरु दिदै आएको छ ।’

यस आर्थिक बर्षमा केन्द्रले मालिकाको विम र अन्नपुर्ण गाउँपालिकाको दानामा परम्परागत स्वास्थ्यकर्मीसंग स्थानीय जडीबुटीको पहिचान र पूस्तान्तरण सम्वन्धी कार्यक्रम गरिएको बैद्य चिकित्सक प्रेमप्रसाद गौतमले जानकारी दिनुभयो । ‘आयुर्वेद स्वास्थ्य केन्द्रले गलेश्वर जेष्ठ नागरिक आश्रममा बस्ने ७० जना जेष्ठ नागरीकको पहिलो दोस्रो चौमासिकमा स्वास्थ्य परिक्षण, विमको किसानी मावि र गलेश्वरको जडभरत माविमा विद्यालय आयुर्वेद शिक्षा तथा योग सम्वन्धी कार्यक्रम, आयुर्वेद शिविर आयोजनाबाट मालिकामा १७५ जना र धवलागिरीमा २५५ जनालाई सेवा दिएको, रघुगंगाको बेग र मंगलाको बावियाचौरमा जीवनशैली परिवर्तन सम्वन्धी कार्यक्रम केन्द्रले गरेको छ।’ केन्द्रले कार्यालयको हलमा स्वस्थ जीवनका लागि योग भन्ने कार्यक्रम नियमित रुपमा संचालन गरिरहेको छ ।

गोष्ठीमा बेनी नगरपालिका प्रवक्ता रामकृष्ण बराईली, मंगला गाउँपालिका प्रवक्ता धनबहादुर खाती र ब्यवस्थापन समितिका सदस्य उत्तम कर्मचार्यले आयुर्वेदको महत्वबारे चर्चा गर्नुभएको थियो । निर्मित कार्यालय प्रमुख शर्माको संचालन, बैद्य निरिक्षक प्रेमप्रसाद गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रममा आयुर्वेद चिकित्सक डाक्टर सन्देश अधिकारीले आयुर्वेदको ब्यवहारिक ज्ञानबारे जानकारी गराउनुभएको थियो । अर्धबार्षिक समिक्षा गोष्ठीमा मंगला, रघुंगगा र अन्न्नपुर्णमा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुखले यस आर्थिक बर्षमा गरेका गतिविधि प्रस्तुत गर्नुभएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l