रत्नेचौर धार्मिक महोत्सवमा करिब ३२ लाख रुपैयाँ दान संकलन

  • ३० फाल्गुन २०७८, सोमबार
  • 540 पटक पढिएको

म्याग्दी, ३० फागुन । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा सोमबार सम्पन्न धार्मिक महोत्सवमा करिब रु ३२ लाख आर्थिक संकलन भएको छ । रत्नेचौर स्थित पदम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा फागुन २३ देखि ३० गतेसम्म सञ्चालन भएको श्रीमद्भागवत ज्ञान महायज्ञमा ३१ लाख ७० हजार १०३ बराबर दान संकलन भएको मूल आयोजक समितिका संयोजक नेत्रबहादुर महतले जानकारी दिनुभयो ।

लक्ष्मीहरि भगवानको २५ औं रजत जयन्ती तथा संस्थापकचार्य जीयर स्वामीजी महाराजको नाक्षत्र शताब्दीको अवसरमा महायज्ञ आयोजना गरिएको थियो । महायज्ञमा सबैभन्दा धेरै स्वामी हिमालय बाबाले रु ६ लाख ६६ हजार ६६६, कमला कुँवरले रु १ लाख २९ हजार ३४५, लालबहादुर न्यौपानेले रु १ लाख १११ हजार, बलबहादुर थापाले रु १ लाख २५ रुपैयाँ, बसन्त बोगटी गुठी कोषबाट रु ९७ हजार ७ सय ७७ दान गर्नुभएको मन्दिरका सचिव एवम् मुल आयोजक समितिका उपाध्यक्ष चिरञ्जीवि बोगटीले जानकारी दिनुभयो ।


महायज्ञको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल (नेपाली)ले उद्घाटन गर्नुभएको थियो जिल्लाका विशिष्ट ब्यक्तिहरुको समेत उपस्थिीति रहेको थियो । महायज्ञले रत्नेचौर क्षेत्रमा रहेको धार्मिक महत्वलाई उजागर तथा प्रचार प्रसार र लक्ष्मीहरि मन्दिरको चौतर्फि विकासका लागि सहयोग पुगेको वडा अध्यक्ष एवम् मुल आयोजक समितिका बरिष्ठ उपाध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।