धवलागिरि गाउँपालिकाकाे कल्लेनीमा बिजुली बल्यो

  • २५ फाल्गुन २०७८, बुधबार
  • 757 पटक पढिएको

म्याग्दी, २५ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–६ कल्लेनीमा विद्युत् सुविधा पुगेको छ । जम्मा २५ घरधुरी रहेको कल्लेनी गाउँमा पहिलो पटक केन्द्रीय प्रशारण लाइनको बिजुली बलेको हो । कल्लेनीमा रहेको ट्रान्सफर्मरबाट मङ्गलबारदेखि विद्युत् वितरण सुरु भएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले कल्लेनीमा विद्युतीकरण गरेको हो । प्रदेश सरकारको बजेटमार्फत विद्युतीकरण गरिएको केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताउनुभयो । “कल्लेनीको ट्रान्सफर्रमरबाट आसपासका बस्तीका १०० घरधुरीमा बिजुली वितरण गर्न सकिन्छ । ३२ वटा ट्रान्सफर्मर लगिसक्नु भएको छ । छिमेकी गाउँ भारवाङमा पनि बत्ती बाल्ने तयारी छ,” उहाँले भन्नुभयो “दुई वर्षअघिनै पोल गाडेपनि २०७७ असारको पहिरोले क्षति पु¥याएपछि मर्मत गरेर आयोजनालाई पुर्णता दिएका हौँ ।”

यसअघि उज्यालोका लागि सौर्य, टुकी र दियालोमा निर्भर कल्लेनीवासी बिजुली बलेपछि खुसी भएका छन् । छहरीखोलाको पानीले ‘पेल्ट्रिक सेट’ चलाएपनि नियमित विद्युत् उत्पादन हुन सकेको थिएन् । विद्युत् सुविधा भएपछि घरायसी कामकाज, उद्यम व्यवसायदेखि बालबालिकाको पठनपाठनमा सहज भएको छ ।

धवलागिरिको मुनी, फलिगाउँ, मुना र दरमा पनि हालै विद्युतीकरण गरिएको थियो । सबै बस्तीमा केन्द्रीय र लघुजलविद्युत् परियोजनाको बिजुली बाल्ने काम अन्तिम चरणमा पुगेको छ । तीन हजार १२९ घरधुरी रहेको धवलागिरिलाई उज्यालो गाउँपालिका घोषणा गर्ने तयारी भएको अध्यक्ष थमसरा पुनले बताउनुभयो । वडा न ४ को बगरमा सौर्य ऊर्जामार्फत विद्युतीकरण गरिएको छ ।

गत बर्खामा बाढीले क्षति पु¥याएको लुलाङको दरखोला लघुजलविद्युत् परियोजना मर्मतपछि यसै महिनादेखि पुन सञ्चालन भएको छ । ताकमको सबै बस्तीमा केन्द्रीय लाइन विस्तार भएको छ । गुर्जा, मल्कवाङ, खिवाङ र मराङमा लघुजलविद्युत् परियोजनामार्फत विद्युतीकरण गरिएको छ । पालिकाका सबै घरमा केन्द्रीय लाइन, लघुजलविद्युत् र सौर्य ऊर्जामध्ये कुनै एक माध्यमको विद्युत् सुविधा पु¥याउने गाउँपालिकाको योजना छ ।

लघुजलविद्युत् परियोजना नभएका र केन्द्रीयलाइन नपुग्ने १२० घरधुरीलाई प्रदेश सरकारमार्फत गत कात्तिकमा ५० वाट क्षमताको ‘सोलार सेट’ वितरण गरिएको थियो ।