राहुघाट जलविद्युतमा काम गर्ने मजदुरबाट गाउँमा पुग्यो नक्कली नोट
- १९ फाल्गुन २०७८, बिहीबार
- 1147 पटक पढिएको
म्याग्दी १९ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङमार्गमा काम गर्ने मजदुरबाट संकास्पद नोट फेला परेको छ । करिब दुई साता अघि जलविद्युत आयोजनाको पिप्ले स्थित अडिट नम्बर ३ मा काम गर्ने एक मजदुरले स्थानीय पसलमा सामान किन्न लगेका दुई वटा नेपाली एक हजारका नोट संकास्पद देखिएको थियो ।
पसलमा लगेका दुबै नोट संकास्पद देखिएपछि उक्त नोटलाई सदरमुकाम बेनीमा ल्याएर एक वित्तिय संस्थामा परिक्षण गर्दा उक्त नोट सक्कली नभएको र संकास्पद भएको पुष्टि भएको थियो ।
दुबै नोट बाख्ला र खस्रो भएपछि स्थानीयले बेनीमा ल्याएर वित्तिय संस्थामा उक्त नोटलाई परिक्षण गराएका थिए । उक्त क्रममा दुबै नोट सक्कली नभएपछि जलविद्युतमा काम गर्ने मजदुरहरु मार्फत गाउँमा ठुलो संख्यामा नक्कली नोट भित्रिएको हुनसक्ने त्रास बढेको छ ।
प्रारम्भीक अनुसंधानको क्रममा आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)को तर्फबाट अडिटमा खटिएका सुपरभाइजर तहका प्रतिनिधिबाट मजदुर हुँदै पसलसम्म उक्त नक्कली नोट पुगेको भेटिएको छ । यस आयोजनाको सुरुङ निर्माणतर्फ अधिकाँश भारतीय कामदार कार्यरत छन् ।
‘‘ मजदुरबाट फेला परेका संकास्पद मानिएका नक्कली नोटले स्थानीयबासी चिन्तीत बनेका छन्, पसलमा लगेका दुई वटै नोट नक्कली हुनुले कतै ठुलै संख्यामा गाउँमा नक्कली नोटको बिगविगी त भएको छैन भन्ने कुराले हामीलाई गम्भीर बनाएको छ’’–स्थानीयबासी नारायण सुवेदीले भन्नुभयो । सुनियोजित रुपमै नक्कली नोट फिजाइएको हुनसक्ने भन्दै उहाँले उहाँले उक्त बिषयमा गम्भिर छानविन गरि दोषिमाथि कारबाही गर्नुपर्ने र उक्त कार्यलाई नियन्त्रण गर्न सम्बन्धीत सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले सुरुङ, विद्युतगृहत र पावर हाउस निर्माणका काम गरिरहेको छ ।