बेनीको एकतर्फी यातायातलाई बजारको सबै क्षेत्रमा लागु गर्न म्याग्दी चेम्बर अफ कमर्शको माग

  • १८ फाल्गुन २०७८, बुधबार
  • 607 पटक पढिएको

म्याग्दी १८ फागुन । म्याग्दी सदरमुकाम बेनीमा लागू गरिएको एकतर्फी यातायातको बिषयमा विभिन्न टिकाटिप्पणी र पक्ष विपक्षमा बहस र छलफल भैरहेको सन्दर्भमा म्याग्दी चेम्बर अफ कमर्श भने एकतर्फी यातायातकोपक्षमा उभिएको छ । निजी क्षेत्रको एउटा छाता संगठन म्याग्दी चेम्बर अफ कमर्शले बुधवार विज्ञाप्ती मार्फत एकतर्फी यातायातले दुर्घटना न्यूनिकरण र पैदलयात्रुलाई समेत सहज बनाएको भन्दै सिमिति क्षेत्रमा गरिएको एकतर्फीलाई बजारको सबै क्षेत्रमा लागु गर्न सुझाब दिएको छ ।
गत पुस १ गतेदेखि बेनीमा एकतर्फी सवारी सञ्चालन नियम लागू गरिएको थियो । नियम लागू भएको दुई महिना पछि न्यूरोड क्षेत्रका केहि व्यवसायिहरुको दबाबमा म्याग्दी उद्योग वाणिज्य संघले विरोध जनाएपछि प्रहरी र संघ विच यस बिषयमा बिवाद समेत बढेको छ । दुईहप्ता अघि बेनी नगरपालिकामा बसेको सरोकारवालाहरुको वैठकमा एकतर्फी यातायात सञ्चालनले व्यवसायीहरुलाई समस्या भएको भन्दै व्यवसायीहरुले विरोध जनाएका थिए । प्रहरीको समर्थन नभैकन म्याग्दी उद्योग बाणिज्य संघ र बेनी नगरपालिकालले एकतर्फी यातायातलाई पुर्नविचार गर्नेसम्मको निर्णयमा पुगेका थिए । तर प्रहरीले बेनीमा यातायात व्यवस्थापनमा एकतर्फीलाई पालना गराउँदै आएको छ ।
म्याग्दी चेम्बर अफ कमर्शका अध्यक्ष भरत रकालले बुधवार एक विज्ञप्ती निकालेर बेनीमा लागू गरिएको एकतर्फी यातायात ठिक भएको र यसलाई पुरै बजार क्षेत्रमा लागू गर्नुपर्ने माग गर्नुभएको छ । एकतर्फी यातायातले सडक दुर्घटनामा कमि भएको,सर्वसाधारण पैदल हिड्न सहज भएको,बजारको सुन्दरता र व्यवसायिक सहजता र प्रभावकारीतामा वृद्धि,जोखिम कम,ट्राफिक जाम कम आदी कुराहरुमा सुधार भएकाले उक्त नियम बजार क्षेत्रभरी नै लागू गर्न कमर्शले विज्ञप्ती मार्फत माग गरेको छ । विज्ञप्तीमा सिमित क्षेत्रमा गरिएको एकतर्फीले यातायातका कारण निश्चित ठाउँमा मात्रै व्यापार केन्द्रीत भएको ठहर गर्दै बजारको सबै क्षेत्रमा एकतर्फी लागु गर्नुपर्ने उल्लेख गरिएको छ ।