पाहुनाको रोजाईमा असला माछा

  • १८ फाल्गुन २०७८, बुधबार
  • 1940 पटक पढिएको

म्याग्दी, १८ फागुन । म्याग्दी नदीका असला माछा प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा डुबेर उपचार गराउन आउने बिरामीका लागि पोषिलो खुराक र जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि गतिलो कोसेली बनेका छन् ।

बेनी नगरपालिका–४, सिङगास्थित प्रसिद्ध तातोपानी कुण्डमा डुब्न आउने बिरामी तथा पर्यटकको रोजाइँमा म्याग्दी नदीमा पाइने असला माछा पर्ने गरेका हुन् । बजारको छेउमै रहेको म्याग्दी नदीको चिसो पानीमा पाइने असला माछा निकै स्वादिलो हुने भएकाले तातोपानीमा स्नान गरेपछि बिरामीले यहाँका माछालाई पौष्टिक आहारको रूपमा खाने गरेका छन्, भने घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकले कोसेलीको रूपमा लिएर फर्कने गरेका छन् ।

अन्यत्र पाइने माछाभन्दा यहाँका माछा बढी स्वादिष्ट हुने भएपछि अहिले ताजा माछाप्रति केजी एक हजार ५०० मा बिक्री हुने गरेको छ । कोभिड–१९ संक्रमणको जोखिम कम भएपछि हिजोआज तातोपानी कुण्डमा नुहाउने बिरामीको भीड बढेको छ । कुण्डमा चलहपहल बढेपछि म्याग्दी नदीको किनारमा रहेका बजार दरबाङ र बाबियाचौर क्षेत्रबाटसमेत माछा मारेर व्यापारीले बिक्रीका लागि तातोपानीसम्म ल्याउने गरेका छन् ।

असला माछा खानकै लागि तातोपानीमा आउनेलाई पु¥याउन धौधौ हुने गरेको तातोपानीस्थित तुलाचन होटल एण्ड थकाली भान्सा घरका सञ्चालक मना तुलाचनले बताए । “माछा कमै पाइन्छ, माग भने ह्वात्तै बढेको छ, तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र घुम्न आएका पर्यटकको माग थेगिनसक्नु हुन थालेपछि पु¥याउन सकिएको छैन,” उनले भने, ‘माछा कमै पाइने भएकाले कोसेलीको रूपमा लिएर जान चाहनेलाई दिएर पठाउन हम्मेहम्मे परेको व्यवसायीको भनाइ छ ।’
घुम्ने र तातोपानीमा स्नान गर्न जानेले कोसेलीको रूपमा लैजाने भएकाले जति रकम तिरेर भए पनि माछा किन्ने प्रचलन बढेपछि माछाको मूल्य पनि बढेको छ । पछिल्ला केही वर्ष नदीमा माछा कम हुँदै गएकाले स्थानीयवासीको सहयोगमा प्रहरीलेसमेत विषादीको प्रयोग र करेन्ट लगाएर माछा मार्न प्रतिबन्ध लगाएको छ ।

तातोपानीका होटलका भान्सामा विषादीरहित माछा पाक्ने गरेको छ । माछासँगै फापरको ढिँडोले यहाँको होटल व्यवसाय पनि राम्रोसँग फस्टाएको स्थानीय होटल व्यवसायीको भनाइ छ । विगतमा सामान्य मानिने फापर स्वास्थ्यलाई हितकर हुने भएपछि पछिल्लो समय फापरको पिठोको ढिँडोसँगै माछा सबैको रोजाइँमा पर्न गएको स्थानीय होटल व्यवसायी कृष्ण केसीले बताए ।

तातोपानीको उपल्लो र तल्लो बजार क्षेत्रमा सञ्चालनमा रहेका होटलमा वा स्वाथ्यका लागि राम्रो गर्ने र स्वादिलो हुने भएकाले म्याग्दी नदीको लोकल माछा र फापरको ढिँडो खान धेरैले मन पराउने गर्दछन् ।