‘मनछुने सेवाः सहयोगी स्वयंसेविका’
- १२ फाल्गुन २०७८, बिहीबार
- 890 पटक पढिएको
म्याग्दी १२ फागुन । शहरी क्षेत्रमा समाजसेवा र सहयोगको नाममा देखावटीपन बढ्दो छ । तर गाउँमा भने समाजसेवा र सामाजिक काम गर्नेहरु ओझेलमा पर्छन् । गाम्रिण भेगमा पुग्ने हो भने सेवा र सद्भावका वास्तविक कथाहरु देख्न र अनुभुति गर्न पाईन्छ । यस्तै मनछुने सेवाको दृष्य रघुगंगा गाउँपालिका –८ घ्यासीखर्कमा देखियो ।
स्थानीय स्वास्थ्य चौकीमा कोभिड विरुद्धको बुष्टर डोज खोप लगाउने क्रममा ज्येष्ठ नागरिकलाई बोकेर ओहोर दोहोरमा खटिनुभएकी महिला स्वास्थ्यकर्मीको दृष्यले सेवाको भाबलाई गहिरो गरि प्रस्टाएको छ । उक्त दृष्यमा महिला स्वास्थ्य स्वयंसेविका तोलमायाँ छन्त्यालले ज्येष्ठ नागरिकलाई बोकेर खोपकेन्द्रमा ल्याउनुभएको थियो ।
मंगलेखानीबाट आउनुभएकी ज्येष्ठ नागरिकलाई यातायातको सुविधा नभएको र हिडेर खोपकेन्द्रमा पुग्न कठिन भएपछि खरिबोटबाट स्वास्थ्य चौकीसम्म छन्त्यालले बोकेरै ओहोर दोहोर गराउनुभएको थियो । भौगोलिक रुपमा विकट र दुर्गम रहेको कारण कोभिड विरुद्धको खोप अभियानका क्रममा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाहरुले दर्जनौँ पटक ज्येष्ठ र असाह्य नागरिकहरुलाई आफै बोकेर खोपकेन्द्रमा लैजाने र खोप लगाउने काम गरेको कुइनेमंगले स्वास्थ्य चौकीका इन्चार्ज दिपेन्द्र बुढा मगरले बताउनुभयो ।
‘‘ दुर्गम छ, यातायातको सहज पहुँच छैन, बाटा भएपनि गाडी छैनन्, स्वास्थ्य सेवा दिँदा थुप्रै पटक यस्ता कामहरु गरिरहनपर्छ’’–उहाँले भन्नुभयो । यस वडाको कुइनेखानीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । सामुदायिक स्वास्थ्य इकाइमा तीन जना र स्वास्थ्य चौकीमा कार्यरत ४ जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवामा सघाउने ९ जना महिला स्वास्थ्य स्वयंसेविका नै हुन् ।