गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको अध्यक्षमा पुन चयन

  • ३० पुष २०७८, शुक्रबार
  • 709 पटक पढिएको

म्याग्दी ३० पुस । म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा रहेको गलेश्वरधाम जेष्ठ नागरिक आश्रम संचालक समितिको अध्यक्षमा बम बहादुुर पुन चयन हुनुभएको छ । शुक्रबार सम्पन्न आश्रमको १० औँ कार्यकारी सभा तथा चौँथो अधिवेशनबाट पुनको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति चयन भएको हो । आश्रम संचालक समितिको उपाध्यक्षमा टिकानन्द सुवेदी, सचिवमा लक्ष्मण चालिसे, कोषाध्यक्षमा गौमाया गर्वुजा र सदस्यहरुमा देबि बहादुर छन्त्याल, मनमति शेरपुन्जा, र हरिराम आचार्य चयन हुनुभएको गलेश्वर शिवालय क्षेत्र बिकास कोषका कार्यालय सचिव राम बहादुर बानीयाँले जानकारी दिनुभयो ।

कार्यक्रममा कोषाध्यक्ष गौमाया गर्वूजाले आर्थिक बर्ष २०७७÷०७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आश्रमका गत बर्षको कुल आम्दानी ६९ लाख ६६ हजार, ३ सय २२ रुपैयाँ र कुल खर्च १८ लाख ३६ हजार ८ सय २८ रुपैयाँ रहेको छ । जेष्ठ नागरिक आश्रमलाई गत आर्थिक वर्षमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रायलबाट रु ५ लाख ८९ हजार र सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेश सरकार बाट १० लाख ५१ हजार सहयोग प्राप्त भएको अध्यक्ष बम बहादुर पुनले बताउनुभयो । उक्त बजेटबाट जेष्ठ नागरिकहरुलाई लत्ताकपडा, खाद्यान्न, तथा औसधि उपचार उपलब्ध गराइएको पनि उहाँले बताउनुभयो ।
२०६७ सालदेखि संचालनमा रहेको जेष्ठ नागरिक आश्रममा हाल ४ पुरुष सहित ४८ जना जेष्ठ नागरिकहरुले आश्रय लिइरहेका छन । म्याग्दी, बाग्लुङ, पर्बत लगाएतका देशका विभिन्न जिल्लाका ६० बर्ष देखि ७५ बर्ष सम्मका जेष्ठ नागरिकहरु हाल आश्रममा बसिरहेका छन । आश्रमले १ जना कार्यालय सचिव र १ जना सहयोगी कर्मचारीको पनि ब्यबस्था गरेको छ । ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई उक्त सहयोगी मार्फत नुहाइदिने, कपडा धोइदिने लगाएत पुर्ण रुपमा हेरचाह गर्ने ब्यबस्था गरिएको पनि अध्यक्ष पुनले बताउनुभएको छ ।