ताकमकोतबाट प्याराग्लाइडिङको सफल उडान

  • २९ पुष २०७८, बिहीबार
  • 1016 पटक पढिएको

म्याग्दी २९ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित धार्मिक पर्यटकीय स्थल ताकमकोतबाट साहसिक मानिने प्याराग्लाइडिङको परिक्षण सफल भएको छ । भ्रमणको क्रममा आएका अष्ट्रियाका एक नागरिकले विहिवार ताकमकोत परिसरबाट प्याराग्लाइडिङको उडान गर्नुभएको थियो ।

ताकमको आकासमा देखिएको प्याराग्लाइडिङको दृष्य । तस्वीर : कृष्णराज पौडेल

समुन्द्री सतहदेखि २ हजार ५ सय मिटर उचाईमा रहेको कोत परिसरबाट प्याराग्लाइडिङको उडान गर्नुभएका उहाँले करिब आधा घण्टा आकासमै विताएर ताकमको किमचौर फाँटमा अवतरण गर्नुभएको स्थानीय युवा कृष्णराज पौडेलले जानकारी दिनुभयो । ‘‘ यो ताकमकोतबाट भएको पहिलो प्याराग्लाइडिङ हो, आँखै अगाडी देखिने मनोरम हिमसृङ्खलाको अवलोकन गर्दै उहाँले प्याराग्लाइडिङ गर्नुभयो, यहाँबाट प्याराग्लाइडिङको उडान गर्ने सम्भावनालाई उजागर भएको छ’’– उहाँले भन्नुभयो ।


ताकमदेखि मोटरसाईकल हुँदै कोत परिसर पुगेर पर्यटकले आकासमा प्याराग्लाइडिङ गर्नुभएको थियो । खुला आकासमा चराजस्तै उडेर वरीपरिका हिमालको अवलोकन संगै भू–सतह नियाल्नुको आनन्दले लोभ्याएको उहाँले प्रतिकृया दिनुभएको छ । ऐतिहासिक ताकम कोत मन्दिर पुननिर्माण गरि अन्य पर्यटन पूर्वाधार निर्माण भैरहेको अवस्थामा प्याराग्लाइडिङको सफल उडान भएपछि स्थानीयबासी उत्साहित बनेका छन् । ताकम गाउँको शिरमा रहेको यो कोतमन्दिर १६आँै शताब्दीमा तत्कालीन राजाले निर्माण गरेका थिए ।


पुजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वासका साथ विजया दशमीको नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा पूजाआजा र भाकल गरी बली चढाउन यस कोतमा भक्तजनको घुइँचो लाग्ने गर्छ । कोत घरको रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् ।

समुन्द्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा अवस्थित ताकमकोतबाट बाइसे÷चौबीसे राज्यका पालामा थापा राजाले २०० वर्षसम्म राज्य सञ्चालन गरेको इतिहास छ । धार्मिक दृष्टिकोणमा महत्वपूर्ण स्थलको रुपमा परिचित ताकमकोत क्षेत्र पर्यटकीय दृष्टिकोणमा समेत सम्भावनायुक्त क्षेत्र हो । यहाँबाट गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे« हिमशृङ्खलाको साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । धार्मिक, ऐतिहाँसिक महत्व बोकेको ताकमकोतलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीय अग्रसर बनेका छन् ।