दुर्गम बस्तीका कथा :‘लघुजलविद्युत बगाउँदा गाउँ अन्धकार,पहिरोले उठीबासको त्रास’ (तस्वीर र भिडियाे)

  • २६ पुष २०७८, सोमबार
  • कमल खत्री
  • 1431 पटक पढिएको

कमल खत्री
बेनी, २६ पुस । धवलागिरि गाउँपालिका–२ लुलाङ । भौगोलिक रुपमा विकट । विकासका हिसाबले पिछडिएको छ भने प्राकृतिक प्रकोपले स्थानीयबासीलाइ आक्रान्त पारेको छ । सडकको सहज पहुँच पुग्न नसकेको यस वडाको लमसुङ र खोरियामा पहिरोको जोखिम बढेको छ । गाउँ नै पहिरोको जोखिममा छ भने गत भदौ २० गते आएको बाढीले लघुजलविद्युत परियोजना बगाएपछि गाउँ अन्धकार बनेको छ ।

 

परियोजनाको विद्युतगृह सहित मुहान र विजुलिको पोल समेत बगाएपछि यतिबेला दरखोला दोस्रो लघुजलविद्युत परियोजना पूर्ण रुपमा बन्द भएको छ भने गाउँका ३५४ घरधुरी विद्युत सुविधाबाट बञ्चित भएका छन् । ४३ किलोवाट क्षमताको लघुजलविद्युत परियोजना बगाएर गाउँ नै अन्धकार बनेको अवस्थामा कात्तिक ५ गतेको पहिरोले लमसुङबासीमा त्रास बढाएको छ । दरखोलाको कटानले बस्तीमुनीको पाखो बग्न थालेपछि चार घर विस्तापित समेत भएका थिए ।

अहिले हिउँदयाम भएकाले पुनः सोहि ठाउँमा बस्दै आएपनि पहिरोको जोखिम नहटेको स्थानीय पलु पुनले गुनासो गर्नुभयो । ‘‘हाम्रो उठिबास लाग्ने भएको छ, पहिरो जाँदा केहि समय घर छाडेर निस्किएका थियौँ, अहिले बैकल्पिक बासको व्यवस्था नहुँदा पुनः पहिरोको जोखिमका बिच घरमा फर्किएका छौँ, तर अब यहाँ लामो समय बस्ने अवस्था देखिएको छैन, पहिरो रोकथामतर्फ केहि काम सुरु भएको छैन’’–उहाँले भन्नुभयो ।

पहिरोले ज्ञानबहादुर पाईजा, रनप्रसाद पाईजा, दल बहादुर राना र पलु पुनको घर उच्च जोखिममा छ । बस्तीसंगै रहेको स्वास्थ्य चौकी, पशु सेवा केन्द्र, हुलाक र लमसुङ माध्यमिक विद्यालय समेत पहिरोको चपेटामा परेका छन् । दरखोलाकै कटानले मलसुङ स्थित बगरका मनप्रसाद सुनार, अथमा बुढा, लिल बहादुर बुढा र कृष्ण गौचनको घर समेत जोखिमा परेको छ ।

पहिरोले करिब १५ करोड बढीको भोतिक पूर्वाधारमा क्षति पु¥याउने जोखिम बढेको कारण तत्काल नदीको कटान रोकथाम र पहिरो नियन्त्रणको लागि ज्याविन जालि लगाउने काम गर्नुपर्ने स्थानीय अगुवा ज्ञानबहादुर पाईजाले बताउनुभयो । ‘‘ पहिले लमसुङ गाउँदेखि माथिको पहिरोले सतायो,े त्यो पहिरो रोकिनसक्दै बस्तीमुनीबाट पहिरोले त्रास सिर्जना गरेको छ, यो हिउँदमा तटबन्ध र ग्याविन जाली लगाउने काम गर्न नसके आगामी बर्षातमा बाढी र पहिरोले गाउँमा ठुलो क्षति निम्त्याउने निश्चित छ’’–उहाँले भन्नुभयो ।

स्वास्थ्य चौकी लगायतका पूर्वाधार बनाउन ठुलो संघर्ष भएको स्मरण गर्दै उहाँले पहिरो रोकथाम नभए बस्तीसंगै स्वास्थ्यचौकी समेत बग्ने जोखिम रहेको बताउनुभयो । मुना–ढोरपाटन सडकले खोरियाको धराटोलको १३ घर पहिरोको जोखिममा परेको स्थानीयबासीको भनाई छ । सिंगो वडाका अधिकाँश बस्ती पहिरोको चपेटामा पर्दा समेत पहिरो नियन्त्रण र रोकथामको लागि कुनै पनि तहका सरकारले चासो नदिएको स्थानीयबासीको गुनासो छ । यस अघि लमसुङ गाउँको शिरबाट खस्न सुरु गरेको जुगेपानीको पहिरोले बर्षौसम्म स्थानीयबासीलाई त्रासमा बस्न बाध्य बनाएको थियो । बस्तीको दुबैतर्फबाट पहिरोले क्षति पु¥याउन थालेपछि तटबन्ध निर्माण र पहिरो नियन्त्रणको लागि पहल गरिएको वडा अध्यक्ष गमप्रसाद विश्वकर्माले जानकारी दिनुभयो ।


                               चार महिनादेखि सिंगो गाउँ अन्धकारमा
धवलागिरि गाउँपालिका–२ नम्बर वडा विगत चार महिनादेखि अन्धकार बनेको छ । गत भदौ २० गते अबिरल बर्षासंगै आएको बाढीले स्थानीय ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजना बगाएपछि चार महिनादेखि गाउँ अन्धकार बनेको हो । लघुजलविद्युत उपभोग गरिरहेका लुलाङ, लमसुङ, खोरिया लगायतका बस्तीका स्थानीयबासी रातमा टुकीको साहरा लिनुपर्ने बाध्यतामा रहेको स्थानीय युवा भक्तबहादुर सिङकिजा पुन मगरले बताउनुभयो ।
उहाँका अनुसार, बाढीले बगाएको लघुजलविद्युत पुननिर्माणको काममा ढिलाई भएको र केन्द्रीय प्रशारण लाइनको समेत पहुँच नभएकाले स्थानीयबासी थप समस्यामा परेका छन् । रातमा बत्ति बाल्ने समस्या संगै स्थानीय स्तरमा रहेका घरेलु उद्योग समेत समस्यामा परेका छन् । लघुजलविधुतको विजुली प्रयोग गरि सञ्चालन भएका फर्निचर, कुटानी पिसानी मिल, बेकरी, मासु पसल समेत प्रभावित बनेको स्थानीय प्रबिना विकले बताउनुभयो । ‘‘ रातमा गाउँका बालबच्चाले पढ्न पाउँदैनन, फ्रिजमा राखेर विक्रि गरिने सामानहरुको विक्रिवितरण प्रभावित बनेको छ, जतिसक्दो चाँडो लघुजलविद्युत पुननिर्माण गर्न जरुरी छ’’–उहाँले भन्नुभयो ।


मरेनीको फेदीमा विद्युतगृह रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजना बाढीले बगाउँदा करिब ३० लाख बराबरको क्षति भएको दोस्रो लघुजलविद्युत परियोजनाका सचिव लालबहादुर खड्काथोकीले जानकारी दिनुभयो । बाढीले परियोजनाको मुहानतर्फको कुलो र बाँधमा क्षति पु¥याएको छ । त्यसैगरि विद्यूतगृह पूर्ण रुपमा बगाएको छ भने विद्युतगृहका जेनेरेटर, एलसी बोर्ड, हिटर लगायतका उपकरणमा क्षति पुग्नुको साथै ५ वटा विजुलिका पोल बगाएको छ ।


यस परियोजनाबाट वडाभित्रका ३५४ घरधुरीले नियमित रुपमा विद्युत सुविधा उपभोग गर्दै आएका थिए । विद्युत सुविधा नहुँदा मोवाईल चार्ज गर्न, टेलिभिजन लगायतका सञ्चार सेवाको उपभोग गर्न समेत समस्या भएको स्थानीयबासीको भनाई छ । यस अघि २०७३ मा पहिरोले जुगेपानि स्थित २५ किलोवाट क्षमताको लघुजलविद्युत परियोजना बगाएपछि क्षमता समेत बढाएर मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरि २०७६ मा निर्माण गरिएको थियो ।
परियोजना पुननिर्माण गर्न २० लाख बजेट
बाढीले बगाएको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको पुननिर्माण गर्न रु २० लाख बजेट विनियोजन भएको छ । धवलागिरि गाउँपालिकाले रु १० लाख र प्रदेश निर्वाचन क्षेत्र ख का प्रदेश सभा सदस्य नरदेवी पुनको सिफारिसमा निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमबाट रु १० लाख बजेट विनियोजन भएको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । प्राविधिक सर्वेक्षणको काम गरेर बजेट विनियोजन गरिएको र पुननिर्माणको काम अघि बढाउने तयारी गरिएको अध्यक्ष पुनले बताउनुभयो ।
दुई बर्ष अघि बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको ८५ लाख, गाउँपालिकाको पचास लाख र स्थानीयबासीको ३३ लाख रुपैयाँ बराबरको श्रमदानमा परियोजनाको निर्माण गरिएको थियो । केन्द्रिय प्रशारण लाईनको पहुँच नपुगेको लुलाङमा मोटरबाटोको समेत पहुँच पुग्न सकेको छैन् । बजेटको व्यवस्थापन भैसकेको र पुननिर्माणको तयारी भएकाले आगामी दुई महिनाभित्रमा पुनः लघुजलविद्युतबाट विजुलि उत्पादन हुने वडा अध्यक्ष गमप्रसाद विश्वकर्माले जानकारी दिनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l