सिटिजस लाइफ इन्स्योरेन्स कम्पनीद्धारा ५५ लाख बढी मृत्यु दाबी रकम भुक्तानी

  • २५ पुष २०७८, आईतवार
  • 1398 पटक पढिएको

बेनी, २५ पुष । सिटिजस लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दीमा एकै महिनामा रु. ५५ लाख भन्दा बढी मृत्यु दाबी रकम भुक्तानी गरेको छ । पुष ८ गतेदेखि आइतबारसम्म तीन जना बिमित मृतकका आफन्तलाई सो रकम भुक्तानी गरिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बेनी शाखाले जनाएको छ । सवारी दुर्घटनामा परेर ज्यान गुमाएका रघुगंगा गाउँपालिका–१ बेगका दुई जना बिमितका परिवारलाई आइतबार रु. ५१ लाख ८७ हजार पाँच सय मृत्यु दाबी रकम भुक्तानी गरिएको छ । कम्पनीले यसअघि पुष ८ गते बेनी नगरपालिका ३ का शान्तराम बुढाथोकीका परिवारलाई रु. तीन लाख ३८ हजार ३८८ मृत्युदावी रकम हस्तान्तरण गरेको थियो ।

गत महिना बेगमा जिप दुर्घटनामा परेर ज्यान गुमाएका दुतबहादुर थापाका परिवारलाई रु. ३१ लाख दुई हजार पाँच सय र गौमाया बिकका परिवारलाई रु. बीस लाख ८५ हजार मृत्युदावी रकम हस्तान्तरण गरिएको शाखा प्रमुख भावना पौडेल सुबेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, रु. पन्ध्र लाखको बिमा गरेका थापाले दुई किस्तामा रु. एक लाख ५५ हजार प्रिमियम शूल्क तिर्नुभएको थियो । बिमांक बाहेक किरिया, दुर्घटना र एक बर्षको बोनस सहितको रकम उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

रु. दश लाखको बिमा गरेकी गौमायाले दुई किस्तामा रु. नब्बे हजार प्रिमियम शूल्क तिर्नुभएको थियो । उहाँका परिवारले बिमांक, किरिया, दुर्घटना र एक बर्षको बोनस सहितको रकम पाउनुभएको हो । बेगखोलामा भएको बिमा दाबी रकम हस्तान्तरण कार्यक्रममा रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, वडा अध्यक्ष बिलबहादुर फगामी, शाखा प्रमुख सुवेदी लगायतले विमितका घरपरिवारलाई उक्त विमा दावि रकम हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भण्डारीले जिवन बिमाले बचत संगै आर्थिक हानीको क्षति कम गर्ने र आश्रित परिवारको जिविकोपार्जनमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा, सिटिजन्स लाईफ इन्सोरेन्स कम्पनीका धौलागिरी क्षेत्रीय ब्यवस्थापक दिपेन्द्र लम्साल, अभिकर्ताहरु पुस्पा पुन, सुनिता कँडेल, रजिता केसी, मिरा फगामी, दुर्गादेवी पौडेल लगायतको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो ।