बहराइनमा नै ज्यान गुमाएका पाईजा परिवारलाई मोनाको रु ५० हजार सहयोग

  • २० पुष २०७८, मंगलवार
  • 920 पटक पढिएको

म्याग्दी २० पुस । रोजगारको शिलसिलामा बहराईनमा ज्यान गुमाएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका हिराबहादुर पाईजाको परिवारलाई म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले रु ५० हजार आर्थिक सहयोग गरेको छ । प्रवासी भूमिमा नै ज्यान गुमाएका पाईजाको परिवारको राहतका लागि मोनाले स्थापना गरेको आपतकालिन राहतकोषबाट उक्त सहयोग गरिएको हो ।


मंगलवार बेनीमा मोनाका सचिब सुबोध बरुवालले दिवंगत पाईजाकी श्रीमती आसमायाँ पाईजा, छोरी एनिसा र छोरा अमितलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । दिवंगत पाईजाका दुई छोरा र एक छोरी रहनुभएको छ । स्वास्थ्यमा समस्या आएपछि गत मंसिरमा ५७ बर्षिय पाईजाको बहराइनमा नै निधन भएको थियो । सामाजिक कार्यमा समेत सक्रिय रहनुभएका पाईजा म्याग्दी प्रवासी नेपाली संघ (मोना) बहराईनको सल्लाहकार समेत हुनुहुन्थ्यो ।
घरमुलीको प्रवासमै निधन भएको र आम्दानीको स्रोत गुमेपछि घरपरिवारको राहतका लागि मोना अन्तराष्ट्रियको बैठकबाट सहयोग उपलब्ध गराउने निर्णय भए बमोजिम उक्त सहयोग हस्तान्तरण गरिएको सचिब बरुवालले बताउनुभयो । आपतकालिन कोषबाट यस अघि कोरोना महामारीको सन्दर्भमा जिल्लामा स्वास्थ्य सामाग्री सहयोग र प्रवासमा अलपत्र परेका जिल्लाबासीलाई नेपाल फर्कने प्रयोजन लगायतमा समेत सहयोग गरिएको मोनाले जनाएको छ ।