एकीकृत समाजवादी म्याग्दीको प्रथम भेला सम्पन्न( तस्वीर सहीत)

  • १७ पुष २०७८, शनिबार
  • 963 पटक पढिएको

म्याग्दी १७ पुस । एकीकृत समाजवादी म्याग्दीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । शनिबारका दिन जिल्ला समन्वय समितिको सभा हलमा भएको जिल्ला भेलाले आफ्ना पाँच जनवर्गीय संगठनहरु समेत गठन गरेको छ ।

सभालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य तथा दलित मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष गनेश वि.क.ले गाउँगाउँमा एकीकृत समजवादीमा आवद्ध हुने लहर चलेको बताउँनुभयो । “गाउँगाउँमा एकीकृत समाजवादीको आकर्षण बढेको छ । लोकतन्त्र जोगाउन आफ्नो पद र प्रतिष्ठा समेत गुमाउन एकीकृत समाजवादीका नेताहरु तयार भएकै कारण यो पार्टीमा जनताको आकर्षण बढेको हो तर हामी हाम्रो पार्टीमा आवद्ध हुन चाहाने ब्यक्तिहरुको सामु अझै पुग्न सकिएको छैन” पोलिटब्युरो सदस्य वि.कको भनाई रहेको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा दलित मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष कृष्ण नेपालीले दलित, जनजाती तथा निमुखा बर्गहरुका मुद्दाहरु सम्बोधन गर्ने पार्टी एकीकृत समाजवादी भएको बताउनुभयो । अन्य राजनीति दलहरुबाट जनताहरु आश्वाशित मात्र भए अब जनताको गुनासो सुन्ने र सम्बोधन गर्ने पार्टी एकीकृत समाजवादी नै हो त्यसैले शोषित, पीडित सम्पूर्ण समुदाय यस पार्टीमा आवद्ध हुन विकले आग्रह गर्नुभयो ।               पार्टीको म्याग्दी जिल्ला इन्चार्ज मुना बानियाँले महिलाहरुका समस्याहरुको सम्बोधन गर्ने पार्टी एकीकृत समजावादी भएकाले सम्पूर्ण महिलाहरुलाई आफ्नो पार्टीमा आवद्ध हुन आग्रह गर्नुभयो । “इतिहास हेर्ने हो भने महिलाहरु अगाडि उभिएका कुनैपनि युद्धले हार्नु परेको छैन र हार्नका लागि हामी यो युद्धमा होमिएका होइनौ” इन्चार्ज बानियाँले भन्नुभयो । एकीकृत समाजवादी म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माले अन्य पार्टीहरुले सोचेअनुसार म्याग्दीमा एकीकृत समाजवादी कमजोर नरहेको बताउँदै एक झिल्कोबाट नै सिङ्गो बनमा आगो लाग्नसक्ने बताउनुभयो ।  अनेरास्ववियूका केन्द्रिय उपसचिव राजन पराजुलीले हामी विद्यार्थीहरुको मुख्य हतियार कलम भएकोले सत्य र तथ्य कामहरुका बारेमा कलमका निमहरु तिखार्न आग्रह गर्नुभयो । अनेरास्ववियूकी केन्द्रिय सदस्य कल्पना सापकोटाले सत्य र लोकतन्त्रका लागि आफूहरु सबैकुरा गुमाउन तयार रहेको बताउनुभयो ।

केपी ओलीले दुईदुईपटक संसद विघटन गरेपछि दुई पार्टीको एकता भएर बनेको नेकपा विभाजित भएर नेकपा एमाले र माओवादी केन्द्र पूर्व अवस्थामा पुगेका थिए । नेकपा एमाले पनि विभाजित भएर बनेको एकीकृत समाजवादी यतिखेर आफ्ना सङ्गठनहरु निर्माणकै प्रक्रियामा रहेका बखत म्याग्दीमा आज जिल्ला भेला गरिएको हो ।

जनजाती महासंघ म्याग्दीका अध्यक्ष बमबहादुर पाइजाको अध्यक्षता, युवा संघ नेपालका केन्द्रिय सदस्य अनुप गौचनको स्वागत र संचालन सचिवालय सदस्य रुद्र किसानले गरेका थिए ।