जेसीज कप फुटबलको सेमिफाईनलमा बुद्ध एकेडेमी र न्यु वेष्ट प्वाईन्ट प्रवेश

  • २४ मंसिर २०७८, शुक्रबार
  • 800 पटक पढिएको

म्याग्दी २४ मंसिर । म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा बुद्ध एकेडेमी र न्यु वेष्ट प्वाईनट विद्यालय प्रवेश गरेका छन् । बेनीको खुल्लामञ्चमा जारी प्रतियोगितामा शुक्रबार भएको क्वाटरफाईनलमा बेनी बोडिङलाई बुद्ध एकेडेमीले शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने डर्निङ बोडिङलाई न्यु वेष्ट प्वाईन्ट विद्यालयले शुन्यका विरुद्ध २ गोल गर्दै सेमिफाईन प्रवेश गरेको म्याग्दी जेसिजले जनाएको छ ।


सेमिफाईनल प्रवेशका लागि शनिबार म्याग्दी एकेडेमी भर्सेस केवी एकेडेमी र बालमन्दिर आधारभूत विद्यालय र किसानी मावि धारापानी विच प्रतिस्पर्धा हुने म्याग्दी जेसिजका महासचिव दिनेश विश्वकर्माले जानकारी दिए ।

प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने मुल संयोजक कुमार बानियाँले जानकारी दिए ।

जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय चर्चित फुटवल प्रतियोगिताको मुख्य प्रायोजक सन्तोष श्रेष्ठ स्मृति कोष रहेको छ। ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल-जेसीजकप फुटवल’ भन्ने मूल नाराका साथ सञ्चालन भएको १९ औँ संस्करणको प्रतियोगितामा जिल्लाका २१ विद्यालयको सहभागिता रहेको थियो ।